२०८३ कात्तिक २९ , आइतबार

रास्वपाका पदाधिकारीसहित २० सांसद ११ दिने भ्रमणका लागि चीन प्रस्थान



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० सांसद ११ दिने चीन भ्रमणका लागि आज प्रस्थान गरेका छन्।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा बिदाइ गरेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायत सांसदहरू सहभागी छन्।

टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनको राजधानी बेइजिङसहित हाङचोउ र सिचुवानलगायतका सहरको भ्रमण गर्ने कार्यक्रम छ।रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख एवं भ्रमण टोलीका सदस्य डा. आनन्दबहादुर चन्दले चीनले नवप्रवर्तन र प्रविधिका क्षेत्रमा हासिल गरेको प्रगतिको अध्ययन भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन्।

उनका अनुसार कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, औद्योगिक विकास तथा नवप्रवर्तनका क्षेत्रमा चीनले अपनाएका नीति र अभ्यासबारे जानकारी लिने योजना छ। साथै, चीनको प्रविधि र अनुभवलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा, औद्योगिक उत्पादन तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने सम्भावनाबारे छलफल गरिनेछ।

त्यस्तै, भ्रमण टोलीका सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी तथा सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले भ्रमणबाट आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार हुने र आगामी उच्चस्तरीय भ्रमणका लागि समेत सकारात्मक वातावरण बन्ने अपेक्षा गरेका छन्।

चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार