२०८३ असोज १८ , आइतबार

राप्तीमा पानीको सतहले ८ मिटर नाघ्यो, सुरक्षित स्थानमा सर्न आग्रह



राप्ती नदीमा पानीको सतहले ८ मिटर नाघेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार बेलुका ७ बजेर ५ मिनेटको रेकर्ड अनुसार नदीको सतह ८ मिटर १३ सेन्टिमिटर पुगेको हाे।

बाढीको सतह झन् बढ्दै गएपछि राप्तीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन्। स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान स्थानीय बासिन्दालाई आग्रह गरेको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ कुसुमस्थित विभिन्न गाउँ डुबानमा परेका छन।

ईलाका प्रहरी कार्यालय कुसुमका ईन्चार्ज दोर्णबहादुर खड्काले बाढी पसेर कुसुमस्थित बाघखोर, चुनाहा, सिक्टा, सौरी, बैरिया, तितिनघारी लगायत गाउँका ३१ घरमा क्षति पुगेको जानकारी दिए।

बाढीले घर तथा गोठका साथै घरभित्र रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तनमा क्षति पुगेको छ। “प्रारम्भिक चरणको विवरण मात्र आईपुगेको छ, क्षतिको पुर्ण विवरण अझै आईपुगेको छैन,” उनले भने।

राप्तीमा पानीको सतह बढिरहदाँ वर्षा अझै पुर्ण रुपमा रोकिएको छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राप्तीको आसपासका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए। बाढीको खतरा स्वरुप साईरन बजाइएको छ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार