खेल संघको सबलीकरण कार्यक्रम सम्पन्न

नेपालका राष्ट्रिय खेल संघहरूलाई विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सबलीकरण तीनदिने कार्यक्रम आइतबार सम्पन्न भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित खेल संघहरूलाई विभिन्न १० वटा विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित सबलीकरण कार्यक्रम सम्पन्न भएको हो।

संघहरूको कार्यालय सञ्चालन, प्रविधिको प्रयोग, कानुनी व्यवस्था, आर्थिक प्रणालीका विषयमा सबल बनाउने र सञ्चारमाध्यमसँग सहजीकरणलगायत प्रशिक्षणका विषय थिए।

परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले यस किसिमका कार्यक्रमले राष्ट्रिय खेल संघहरूलाई नियमित गतिविधि गर्न सहयोग पुग्ने बताए। उनले सबैको सहकार्यमा मात्र खेलकुदले गति लिने र नयाँ कार्यक्रमबाट उद्देश्य पूरा हुन सक्ने धारणासमेत राखे।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले कार्यक्रमको समापन गर्दै संघहरूलाई निर्देशन दिने मात्र नभई सक्षम बनाउने दायित्व पनि परिषद्को रहेको बताए। उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउने उल्लेख गर्दै तीनदिने प्रशिक्षणपश्चात् संघलाई अझ जिम्मेवार बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल क्रिकेट संघका प्रमुख लेखा अधिकृत रमेशकुमार न्यौपाने, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङ र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले कार्यक्रम निकै फलदायी भएको अनुभव सुनाउँदै यहाँबाट धेरै कुरा सिक्न पाएको धारणा राखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *