१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको शिलान्यास बिहीवार

बहुप्रतिक्षित र बहुचर्चित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको जेठ १० गते बिहीवार शिलान्यास हुने भएको छ।

तमोर–मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्र कुमार लिम्बूले जेठ १० निर्माण कार्यको शिलान्यास गरिने जानकारी दिए।

उनले भने,‘सोहि अनुसार सबैलाई आमन्त्रण गरिएको छ।अब हामी काममा आयौं। रन अफ रिनर प्रकृतिको यो आयोजना निर्माणको विषय सुरु भएको छ।’

लामाे समयपछि कम्पनीले निर्माणको शिलान्यास गर्न लागेको उनकाे भनाइ छ।

यो आयोजना ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ। आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ रहेको छ।

यस्तै,आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुनेछ। आयोजनाबाट उत्पादन हुने कूल बिद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ।

आयोजनाबाट वर्षा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने प्रक्षेपण गरिएको छ।

वर्षा यामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ। आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ।

मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो। आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवर्द्धकबाट शेयर पुँजी लगानी हुने स्पार्कले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *