Author:

  • एक बर्ष लम्बियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

    एक बर्ष लम्बियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

    सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण लाईन निर्माणको ठेक्का लागेको दुई बर्ष भइसक्दा पनि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन सकेको छैन । हालसम्म उक्त प्रसारण लाइन विस्तारको काम ४० प्रतिशत सम्पन्न भएको छ । ३२ किलोमिटर दूरी रहने प्रसारण लाइनमा १०२ वटा एङ्गल टावर निर्माण गर्नुपर्ने छ । २०८० मा निर्माण कम्पनी सिग्मा काठमाडौंसँग प्रसारण लाइन निर्माणको लागि सम्झौता भएको थियो । रुख कटानको कानुनी अल्झनका कारण आयोजनाले गति लिन नसकेको हो । उक्त लाइन निर्माणका लागि ८० करोड लागत लाग्ने भएको छ । २०८२ भित्र प्रसारण लाइन निर्माणको काम पूरा गरिसक्नुपर्ने सम्झौता भएको थियो ।
    सुर्खेतको सुब्बाकुना सवस्टेशनबाट सुरु भई दैलेखको चुप्रा सवस्टेशनमा गएर टुङ्ग्निे यो आयोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा विस्तार हुँदै विस्तार गर्न लागिएको छ । सुर्खेत–दैलेख खण्डमा साना र ठूला गरी झण्डै १९ हजार बढी रुख कटान गर्नुपर्ने १३२ केभी विद्युत प्रसारण लाइन आयोजना सुर्खेतका प्रमुख रविकुमार चौधरीले बताए । रुख कटानको फाइल वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको भएपनि हालसम्म अनुमति प्राप्त नभएको उनले बताए ।
    उनका अनुसार हालसम्म सुर्खेतको धुलियाबिटमा एक र दैलेखको गुराँस गाउँपालिकाको घोडावास क्षेत्रमा तीन वटा गरी चार वटा एङ्गल टावर निर्माण सम्पन्न भएका छन् । रुख कटानको अल्झन नसुल्झिएपछि अहिले जंगल क्षेत्र छोडेर अन्य स्थानमा ५० प्रतिशत टावरका फाउण्डेशन तयार भएको चौधरीले जानकारी दिए । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, चुप्रामा बन्ने सवस्टेसन निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । सम्झौता मितिमा रुख कटानको अनुमती प्राप्त नभएपछि आयोजनालाई एक वर्ष समय थप पनि गरिएको उनले बताए ।
    यसअघि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणका क्रममा पनि राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि समयमै अनुमति नपाउँदा लम्बिएको थियो । ७० करोड लागतको कोहलपुर–सुर्खेत प्रसारण आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता भई काम अघि बढेको थियो । तर, प्रशारण लाइन विस्तार हुने क्षेत्रका रुख कटान गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लामो समयदेखि बाधक बन्दै आएका थिए । २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजनाले सबै खाले विवादबाट उन्मुक्ति पाएको छ । आयोजनाका अनुसार आगामी मंसिर मसान्तभित्र सुर्खेतको सुब्बाकुना सवस्टेशनमा चार्ज गर्ने अन्तिम तयारी छ ।
    कर्णाली प्रदेशमा ठूलो क्षमताको विद्युत बोक्न सक्ने प्रसारण लाइन निर्माण थालिएको यो पहिलो पटक हो । कर्णाली बाहेक अन्य प्रदेशमा ५० कै दशकमा यस्ता प्रशारण आयोजना विस्तार भइसकेका छन् । कर्णालीको पहिलो खण्डअन्तर्गत कोहलपुर–सुर्खेत प्रसारण लाइनबाट सुब्बाकुना सवस्टेशनमा झारिने बिजुली दोस्रो खण्ड सुर्खेत–दैलेख प्रशारण लाइनमा जोडिने छ । सुर्खेत–दैलेख प्रशारण लाइन अन्तर्गत दैलेखमा निर्माण हुने सवस्टेशनबाट पुनः कालिकोट र जुम्लासम्म १३२ केभी प्रसारण लाइन विस्तार हुनेछ ।
    दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, बेलघारीस्थित सवस्टेशनबाट सुरु यो प्रसारण लाइन नारायण नगरपालिका, नौमुले गाउँपालिका हुँदै कालिकोट पु¥याइने छ । यस्तै, कालिकोटको तिलागुफा नगरपालिका महावै गाउँपालिका हुँदै जुम्ला पु¥याइने छ । जुम्लाको हिमा, तातोपानी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिका वडा नम्वर ९ स्थित बयलकटियामा बन्ने सवस्टेशनसम्म गएर आयोजनाअन्तर्गतको १३२ केभी प्रसारण लाइन टुंगिने छ । डबल सर्किट उक्त प्रसारण लाईनको लम्बाई कुल ८२.१४ किलोमिटर लामो रहनेछ ।
    कोहलपुरदेखि जुम्लासम्म लाइन विसतार गर्दा २७९ वटा टावरहरु निर्माण गरिनेछ । यस आयोजना अन्तर्गत दैलेख–कालिकोट र जुम्ला जिल्लामा १३२÷३३÷११ केभी सवस्टेशनहरु निर्माण हुनेछन् । आयोजना निर्माणको लागि कुल एक सय ५० दशमलव ३३ हेक्टर जमिन आवश्यक पर्ने विद्युत विकास विभागले जनाएको छ । जसमध्ये २७९ टावरहरुका लागि स्थायी रुपमा करिब १२ दशमलव चार हेक्टर जग्गा आवश्यक पर्नेछ । यसबाहेक विद्युत मार्गको अधिकार क्षेत्र भित्र राइट अफ वेअन्तर्गत १३२ दशमलव ६९ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्युनतम दूरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट १८ मिटर (मध्य विन्दुबाट नौ÷नौ मिटर दायाँ र बायाँ) कायम गरिनेछ । प्रसारण लाईनको निर्माण कार्य साढे दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।

  • उच्च ज्वरोले दुई सातामा चारको मृत्यु

    उच्च ज्वरोले दुई सातामा चारको मृत्यु

    सल्यानमा उच्च ज्वारोका कारण दुई हप्ताभित्र चार जनाको मृत्यु भएको छ । दुई सातायता केही दिनको फरकमा उपचारका लागि नेपालगन्ज लगिएका चार महिलाको मृत्यु भएको हो । ज्वरोका बिरामी बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान, दार्मा गाउँपालिका र स्थानीय जेनजी समूहको संयुक्त आयोजनामा वडा ३ र ५ मा संचालित दुई दिने शिविरमा स्वास्थ्य तथा रगत परीक्षण गर्दा ५१ जनामा स्क्रबटाईफस र दुई जनामा डेंगी पुष्टि भएको छ ।
    दार्मा गाउँपालिकाका चार जनाको उच्च ज्वरोबाट मृत्यु भएको र धेरैमा ज्वरोको प्रकोप देखिएपछि दार्मामा स्वास्थ्य शिविर संचालन गरिएको थियो । दार्मा गाउँपालिका ३५ देखि ५५ वर्ष उमेर समूहका चार महिलाको दुई सातायता नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । धेरै दिन उच्च ज्वरो आएर थला परेपछि उपचारका लागि नेपालगन्ज लगिएको उनले बताए ।
    शिविरमा दार्मा–३ मा ६७ जनामा स्क्रवटाइफस परीक्षण गरिएकोमा २३ र वडा नम्बर ५ मा ६१ जनामा परीक्षण गरिएकोमा २८ जनामा स्क्रबटाइफस देखिएको थियो । दुई दिनसम्म सञ्चालित शिविरमा ४१२ जनाले परीक्षण र उपचार सेवा लिएका थिए । स्क्रबटाइफस र डेंगी देखिएका सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि चलाएको बस्नेतले जानकारी दिए । संक्रमण फैलन नदिन पालिकाका अन्य वडामा गएर पनि ज्वरो आएका विरामीको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
    स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले ज्वरो र स्क्रबटाइफसको प्रकोप बढिरहेको र उच्च ज्वरोका कारण चार जना महिलाको मृत्यु भएपछि शिविर संचालन गरेर स्वास्थ्य परीक्षण गर्नुपरेको बताए । तीन महिनायता दार्मा गाउँपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा १०१ जना र अन्य पालिकाबाट जिल्ला अस्पतालमा उपचार गर्न आएका ५९ जनामा स्क्रबटाइफस पाइएको छ । अहिलेसम्म सल्यानमा एक पुरुषको स्क्रबटाइफस र ४ महिलासहित ६ जनाको उच्च ज्वरोले मृत्यु भइसकेको उनले बताए ।

  • आन्दोलनका घाइते र मृतक परिवारलाई १२ करोड ८० लाख राहत निकासा

    आन्दोलनका घाइते र मृतक परिवारलाई १२ करोड ८० लाख राहत निकासा

    २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारको नाममा अर्थ मन्त्रालयले अहिलेसम्म १२ करोड ८० लाख रुपैयाँ निकासा दिएको छ ।
    अर्थ मन्त्रालयका अनुसार घाइतेलाई तत्काल भैपरी खर्च वापत कुल २ हजार ४२९ जनालाई प्रतिव्यक्ति २० हजारका दरले रकम उपलब्ध गराइएको छ । यस्तो कुल रकम ४ करोड ८५ लाख ८० हजार हुन आउँछ ।
    त्यस्तै मृतकका परिवारलाई १५ लाखका दरले सहायता, काजकिरिया, खाना तथा यातायात खर्च उपलब्ध गराइएको छ । अहिलेसम्म कुल ५३ परिवारले यस्तो सहायता पाएका छन् । यो सहायता रकम कुल ७ करोड ९५ लाख रुपैयाँ निकासा दिइएको मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयले सुरक्षा निकायका सवारी साधन खरिदमा समेत ठूलो रकम निकासा दिएको छ । नेपाल प्रहरीका लागि १ सय थान पिकअप र ६ थान कैदी बाहन खरिद गर्न ४५ करोड ३० लाख रुपैयाँ थप बजेट उपलब्ध गराउन स्रोत सहमति दिइएको छ ।
    सशस्त्र प्रहरी बल नेपालका लागि २० थान पिकअप, २० थान दंगा नियन्त्रक बाहक, २ थान एम्बुलेन्स, ३ थान डिजास्टर रेस्क्यू भ्यान र ५ थान ट्रक खरीद गर्न २३ करोड ५ लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति दिइएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीका सवारी साधनमा अधिक क्षति पु¥याइएको थियो ।

  • वीरेन्द्रनगरमा विव्यस–शिक्षक आन्दोलनः नगरको कार्यविधिमाथि विव्यस र शिक्षकको रोष

    वीरेन्द्रनगरमा विव्यस–शिक्षक आन्दोलनः नगरको कार्यविधिमाथि विव्यस र शिक्षकको रोष

     

    आइतबार वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा भेला भएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक र सुरक्षामा खटिएका सुरक्षाकर्मीबीच सामान्य धरपकड भयो । व्यवस्थापन समिति र शिक्षकहरु आन्दोलन गर्न नगरपालिकाको कार्यालय परिसरमा जम्मा भएका थिए । आन्दोलनले ठूलो रुप लिन थालेपछि सुरक्षाकर्मीले मध्यस्थता गर्न खोजे । त्यही क्रममा दुई पक्षबीच सामान्य धरपकड भयो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर तत्काल छोडेको थियो ।
    वीरेन्द्रनगर नगरपालिकाले आफूले बनाएको कार्यविधिअनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक तोक्ने, शिक्षकको सरुवा तथा दरबन्दी मिलान गर्ने, उनीहरुलाई कामकाजमा खटाउने, विद्यालय गाभ्ने र स्वीकृति दिने निर्णय गरेको छ । यसैको विरोधमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । असोज २७ गते नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन, सरुवा, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजनको निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गरी कात्तिक १२ गते नगरपालिकाले सार्वजनिक गरेको थियो ।
    नगरपालिकाको निर्णयअनुसार नगरभित्रका ६० वटै विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन, ९८ जना शिक्षकको दरबन्दी मिलान तथा सरुवा, ६ वटा विद्यालय समायोजन, ४ वटा विद्यालयको तह घटुवा, ४ वटा माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालनको प्रक्रिया बढाउने, एउटा आधारभूत विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि माध्यमि तह सञ्चालनको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
    यी निर्णयमध्येमा दुईवटा निर्णयहरु प्रधानाध्यापक व्यवस्थापन र शिक्षक सरुवाको विषयमा व्यवस्थापन समिति र शिक्षकहरुले असहमति जनाएका छन् । नगरपालिकाले संघीय शिक्षा ऐन तथा नियमावली विपरित यस्तो निर्णय गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले गत शुक्रबार नगरपालिकाले गरेका निर्णय फिर्ता लिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए । तत्काल सम्बोधन हुने अवस्था नदेखिएपछि उनीहरले आइतबारदेखि आन्दोलन सुरु गरेका छन् । आइतबार नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र शिक्षा अधिकृतको कार्यकक्षमा तालासमेत लगाईएको छ ।
    विद्यालय व्यवस्थापन समितिहरुले शिक्षा ऐन तथा नियमावलीले दिएको समितिको अधिकारमाथि हस्तक्षेप गरेर नगरपालिकाले निर्णय गरेको टिप्पणी गरेका छन् । ‘हामीले नगरपालिकाको यो निर्णय भएको थाहा पाएदेखि सार्वजनिक हुनु अघिसम्म मौखिक रुपमा ध्यानाकर्षण गराईरहेका थियौं, सूचना आएपछि ज्ञापनपत्र बुझायौं,’ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका महासचिव चित्रनाथ योगीले भने, ‘उहाँहरुले हाम्रो माग सुनुवाई नगर्ने र वार्ताका लागि पनि पन्छिने अवस्था आएपछि आन्दोलन गर्न बाध्य भएका हौं, हामीले भनेअनुसार निर्णय नभएसम्म हामी चरणबद्ध आन्दोलनका कार्यक्रम गर्नेछौं ।’
    वीरेन्द्रनगरले शिक्षा ऐन र नियमावलीसँग बाझिनेगरि आफूखुशी कार्यविधि बनाएर निर्णय गरेको उनले बताए । सामुदायिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन गर्ने अधिकारी व्यवस्थापन समितिलाई भएपनि नगरपालिकाले त्यसमाथि हस्तक्षेप गरेको उनी बताउँछन् । शिक्षा नियमावली, २०५९ को नियम ९३ (२) मा सामुदायिक विद्यालयमा प्रधानाध्यापक रिक्त भएमा नियुक्तिका लागि योग्यता खुलाएर सम्बन्धित विद्यालय व्यवस्थापन समितिले दरखास्त आह्वान गर्ने व्यवस्था गरिएको छ ।
    नगरपालिकाले प्राधनाध्यापक रिक्त नभएकै विद्यालयमा पनि समितिको अधिकारमाथि हस्तक्षे गरी प्रधानाध्यापक व्यवस्थापन गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रदेश अध्यक्ष गोविन्द कोइरालाले बताए । ‘शिक्षा नियमावलीले प्रधानाध्यापकको नियुक्त गर्ने अधिकार स्पष्ट व्यवस्थापन समितिलाई दिएको छ, तर नगरपालिकाले आफूखुशी कार्यविधि बनाएर गरेको निर्णय हाम्रा लागि मान्य छैन ।’ उनले भने ।
    वीरेन्द्रनगर नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलान एवम् प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि, २०८२ बनाएको छ । नगरपालिकाले सोही कार्यविधिमा टेकेर सामुदायिक विद्यालयसँग सम्बन्धित अहिलेका निर्णयहरु गरेको हो ।
    कार्यविधिको दफा १६ मा प्रधानाध्यापक छनोटका मापदण्डसम्बन्धी व्यवस्था गरिएको छ । दफा १६ को उपदफा १ खण्ड (क) मा कार्यविधि लागु हुनुअघि प्रचलित कानुनुअनुसार विद्यालयमा प्रधानाध्यापक हुनका लागि न्युनतम योग्यता पुगेको शिक्षक कार्यरत रहेको तर प्रधानाध्यापक पदमा कार्यरत नभएको विद्यालयमा वरिष्ठतम शिक्षकलाई प्रधनाध्यापक वा निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर काम गराउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिने र उक्त निर्देशन नगरको यही कार्यविधिअनुसार भएको मानिने भनिएको छ । विद्यालयले उक्त निर्देशन कार्यान्वयन नगरे कार्यविधिले निर्धारण गरेको मापदण्डाका आधारमा प्रधानाध्यापक व्यवस्थापन नगरपालिकाले गर्ने व्यवस्था गरिएको छ । यीलगायतका कार्यविधिमा भएको व्यवस्थापनका आधारमा नगरपालिकाले निर्णय गरेको थियो ।
    विव्यस महासंघका प्रदेश अध्यक्ष कोइरालाले शिक्षा ऐन तथा नियमावलीको व्यवस्थाविपरित विद्यालय व्यवस्थापन समितिको क्षेत्रधिकार मिचेको र शिषकलाई कानुनविपरित सरुवा गरी नगरपालकाले आतंकित पारेको टिप्पणी गरेका छन् । उनले आइतबार नगरपालिकामा गरिएको शान्तिपूर्ण विरोधमा हस्तक्षेप गरिएको आरोप पनि लगाएका छन् ।
    प्रधानाध्यापक व्यवस्थापनबाहेक नगरपालिकाले गरेका शिक्षक सरुवा तथा दरबन्दी मिलान, विद्यालय समायोजनका निर्णय पनि शिक्षक, विद्यार्थी र समुदाय अनुकुल नभएकाले फिर्ता लिनुपर्ने विद्यालय व्यवस्थापन समिति महासंघ सुर्खेतका अध्यक्ष चन्द्रा लामिछानेले बताईन् ।
    नगरपालिकाको निर्णयको विरोध गरिरहेका पक्ष र नगरपालिकाबीच छलफलको लागि भने टुंगो लागेको छैन । आन्दोलित पक्षले नगरपालिकाले आफूहरुसँग बसेर यस विषयमा छलफल गरी निकास खोज्नुपर्ने भनेको छ । ‘छलफल त हुन्छ, तर कहिले गर्ने भन्ने यकिन भएको छैन,’ नगरपालिकाका प्रमुख शिक्षा अधिकृत दीपककुमार शाहीले भने, ‘नगरप्रमुखसँग यस विषयमा सहकार्य भईरहेको होला, उहाँहरुले यकिन गर्नुहुन्छ ।’

  • राजश्व छली गरी ल्याएको  चुरोटसहित एक जना पक्राउ

    राजश्व छली गरी ल्याएको चुरोटसहित एक जना पक्राउ

    राजस्व छली गरी ल्याएको चुरोटसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा शनिबार राति एक जनालाई पक्राउ गरेको हो । प्रहरीले वीरेन्द्रनगर–०३ का ३५ बर्षीय जीवनकुमार शाहीलाई पक्राउ गरेको हो ।
    उनलाई वीरेन्द्रनगर–३ मुलपानी चोकबाट चुरोट विक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनले आफैंले सञ्चालन गरेको ‘मेसी’ नामको स्टोरबाट राजस्व छली गरी ल्याईएको चुरोट विक्री गरिरहेको खुलेको छ।
    पक्राउ परेका शाहीको साथबाट २५ डण्डा (५०४ प्याकेट) खुकुरी चुरो बरामद गरिएको डिएसपी बुढथापाले जानकारी दिए । पक्राउ परेका शाहीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा सुर्खेतमा पठाईएको उनले जानकारी दिए ।

  • जेनजी आन्दोलनका क्रममा भागेका कैदी लागुऔषधसहित पक्राउ

    जेनजी आन्दोलनका क्रममा भागेका कैदी लागुऔषधसहित पक्राउ

    गएको भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदी लागुऔषधसहित सुर्खेतमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गोप्य सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको हो ।
    पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–७ का ३० बर्षीय नरेन्द्र ठाडा र वीरेन्द्रनगर–८ का १९ बर्षीया ललिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । गत शुक्रबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना लागु औषध मुद्दामै जगन्नाथदेवल कारागार काठमाडौंमा कैद सजाय भोगिरहेको थिए । उनीहरु भदौ २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागेको उनले जानकारी दिए ।
    गत शुक्रबार ९कात्तिक १४ गते० वीरेन्द्रनगर– ७ स्थित लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५३० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको डिएपी बुढथापाले जानकारी दिए ।

  • ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

    ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

    जेनजी प्रदर्शनको क्रममा लुटिएको एउटा हतियार ज्यान मार्ने उद्योगका फरार प्रतिवादीसँग रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–३ बस्ने २२ वर्षीय राजा भनिने वाङ्सु लामालाई पक्राउ गरेको हो। उनलाई शुक्रबार प्रहरीले गौशालाबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
    भदौ २४ गते लुटिएको ग्यास गन र तीन वटा कार्टिज (गोली) काठमाडौं–७ लाहुरे टोलको एउटा खाजा घर बाहिर कुर्सीमा झोलाभित्र राखिएको फेला परेको थियो। त्यस दिन वाङ्सु भने त्यहाँ फेला परेका थिएनन्। सूचनाका आधारमा थप अनुसन्धान गरी उनलाई पछि पक्राउ गरिएको हो। पक्राउ परेका वाङ्सु प्रहरी वृत्त बौद्धमा ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी रहेको खुलेको छ।
    जिल्ला अदालत काठमाडौंले गत साउन ७ गते पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो। उनी भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।

  • महाधिवेशनको लफडाले फेरि २ दिन पछाडि स¥यो कांग्रेस बैठक

    महाधिवेशनको लफडाले फेरि २ दिन पछाडि स¥यो कांग्रेस बैठक

    १५ औं महाधिवेशनको लफडाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ । बिहीबार महामन्त्री गगन थापाको बहिष्कारका बीच बसेको बैठक शुक्रबार बस्दै नबसी स्थगित भएको थियो । तर आइतबारका लागि तोकिएको बैठक फेरि दुई दिन पछाडि बस्ने गरी सारिएको हो । अर्को बैठक मंगलबार १ बजे बस्ने गरी बोलाइएको छ ।
    संस्थापनले चुनावपछि वैशाखमा र इतर पक्षले पुसभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् । यसमा कुरा नमिल्दा बैठक निरन्तर सरेको हो ।इतर पक्षले कार्यतालिकाको ल्याउन दबाब दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आज पनि समूहका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरेका छन् । गुटको बैठककै बीचबाट खड्काले केन्द्रीय समितिको बैठक स्थगित गराएका हुन् ।