
दार्मा गाउँपालिकाका चार जनाको उच्च ज्वरोबाट मृत्यु भएको र धेरैमा ज्वरोको प्रकोप देखिएपछि दार्मामा स्वास्थ्य शिविर संचालन गरिएको थियो । दार्मा गाउँपालिका ३५ देखि ५५ वर्ष उमेर समूहका चार महिलाको दुई सातायता नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । धेरै दिन उच्च ज्वरो आएर थला परेपछि उपचारका लागि नेपालगन्ज लगिएको उनले बताए ।
शिविरमा दार्मा–३ मा ६७ जनामा स्क्रवटाइफस परीक्षण गरिएकोमा २३ र वडा नम्बर ५ मा ६१ जनामा परीक्षण गरिएकोमा २८ जनामा स्क्रबटाइफस देखिएको थियो । दुई दिनसम्म सञ्चालित शिविरमा ४१२ जनाले परीक्षण र उपचार सेवा लिएका थिए । स्क्रबटाइफस र डेंगी देखिएका सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि चलाएको बस्नेतले जानकारी दिए । संक्रमण फैलन नदिन पालिकाका अन्य वडामा गएर पनि ज्वरो आएका विरामीको स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले ज्वरो र स्क्रबटाइफसको प्रकोप बढिरहेको र उच्च ज्वरोका कारण चार जना महिलाको मृत्यु भएपछि शिविर संचालन गरेर स्वास्थ्य परीक्षण गर्नुपरेको बताए । तीन महिनायता दार्मा गाउँपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा १०१ जना र अन्य पालिकाबाट जिल्ला अस्पतालमा उपचार गर्न आएका ५९ जनामा स्क्रबटाइफस पाइएको छ । अहिलेसम्म सल्यानमा एक पुरुषको स्क्रबटाइफस र ४ महिलासहित ६ जनाको उच्च ज्वरोले मृत्यु भइसकेको उनले बताए ।

उच्च ज्वरोले दुई सातामा चारको मृत्यु




+ There are no comments
Add yours