सर्वोच्चको परमादेश: ४८ घण्टाभित्र सुरेन्द्रराजलाई मुख्यमन्त्री बनाउनु

सर्वोच्च अदालतले ४८ घण्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न भनेको हो।

सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए।

सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो।

एमाले नेता खगराज अधिकारी संविधानको धारा १६८ उपधार २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई मुख्यमन्त्री नियुक्त गर्न एमालेका २२ जना, सभामुख कृष्णप्रसाद धितालसहित माओवादीका ८ जना र राजीव गुरूङले समर्थन गरेका थिए।

अधिकारीले गत वैशाख २३ गते विश्वासको मत लिँदा ३० जना सांसदले मात्र समर्थन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *