
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तीन तहको सरकारबीचको उचित समन्वय र सहकार्य भएमा मात्र नागरिकले अपेक्षित लाभ पाउने बताएका छन् । विकास निर्माण तथा सेवा प्रवाहमा तीनै तहका सरकारको सहकार्य र समन्वयको अभाव रहेको औंल्याए । दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो ।
बुधबार स्थानीय तहका जनप्रतिनिधि सहभागी दोस्रो दिनको भेलामा मुख्यमन्त्री कँडेलले भने, ‘भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय भए मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् ।’ उनले अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्ने पनि औंल्याए । जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारले गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिटको जस्तो व्यवहार गरेको उनले दोहो¥याए । अहिलेको सरकारले प्रदेश र स्थानीय तहको सरकारलाई गरेको व्यवहारमा केही सुधार भएपनि ढुक्क हुने अवस्था नरहेको टिप्पणी उनले गरे ।
दलको विश्वसनीयता पुनस्र्थापना गर्नुपर्ने अवस्था आएकोले जनप्रनिधिले जनताको समर्थनका साथ काम गर्नुपर्नेमा जोड उनले दिए । अहिलेको आन्दोलनले राजनीतिलाई कमजोर साबित गर्ने प्रयास गरेकोले जनताको मन जितेर जनप्रतिनिधिले काम गर्नुपर्ने कँडेलले बताए । ‘हामी आफ्नो क्षमता अनुसारको सरकार चलाउने व्यवस्थामा छौं, आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश र स्थानीय सरकारबीच समन्वय अनिवार्य छ ।’
प्रदेश र स्थानीय दुवै तहका सरकारको उद्देश्य विकास र जनसेवा भएकाले प्रतिस्पर्धाका आधारमा भन्दा सहकार्यका माध्यमबाट काम गरे कर्णालीको विकास गर्न सकिने मुख्यमन्त्री कँडेलले बताए ।
मंगलबारदेखि सुरु भएको भेलाअन्तर्गत दोस्रो दिन बुधबार गाउँपालिकाका जनप्रतिनिधिहरु सहभागी थिए । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको भेलामा नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुखहरुबीच प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, योजना छनोट विधि, राजस्व बाँडफाँट लगायत विषयमा छलफल भएको थियो ।

Leave a Reply