थुनुवाको मृत्यु प्रकरणमा सुर्खेत प्रहरीले भन्यो– घटनालाई अतिरञ्जित गरियो

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा ध्यनाकर्षण जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै कार्यालयले गत शुक्रबार भएको थुनुवाको मृत्युसम्बन्धी घटनामा यथार्थ नबुझी प्रहरी कार्यालय र कर्मचारीहरुमाथि व्यक्तिगत लाञ्छना लगाउनेगरि घटनालाई अतिरञ्जित गरिएको उल्लेख गरेको छ । कार्यालयले नेपालको संविधानप्रदत्त मौलिहक हक तथा मानव अधिकारको रक्षाका लागि प्रहरी सदैव कटिवद्ध रहेको बताएको छ ।
‘केही सामाजिक सञ्जालहरुमा घटनाका बारेमा यथार्थ नबुझी जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी कर्मचारीहरुमाथि लाञ्छना लगाउनेगरि घटनालाई अतिरञ्जित तवरले दुष्प्रचार गरिएको समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण सूचनाहरुप्रति ध्यान नदिई सत्य सूचनाका लागि कार्यालयमा समन्वय गर्नु अनुरोध गर्दछौं ।’
यही कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा लागुऔषध मुद्दाका थुनुवा वीरेन्द्रनगर–११ का गंगे सुनारको मृत्यु भएको थियो । उनी असोज ३ गते पक्राउ परेका थिए । गत शुक्रबार बिहान ५ः५८ बजे उनी ओछ्यानमा बेहोस भेटिएका थिए । उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लिएपछि चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेको थियो ।
उक्त घटनापछि सत्यतथ्य छानविनका लागि आफन्तले विरोध जनाएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनाको छानविन गर्न जिल्ला प्रशासन कार्यालयका अधिकृतको संयोजकत्वमा मानव अधिकारकर्मी तथा मृतकका परिवारका सदस्यसहितको छानविन समिति पनि गठन गरिएको थियो ।
शवको पोस्टमार्टम गर्दा उनको हृदयघातका कारण मृत्इु भएको रिपोर्ट आएको छ । पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञको टोली सुर्खेत आएको थियो । सुतेको अवस्थामा मुटुको नली बन्द भएको र शरीरको बाहिरी वा भित्री चोटपटक कुनै नदेखिएको मंगलबार आएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
घटनापछि आफन्तको हिरासत भित्र मृत्यु हुँदा परिवार तथा आफन्तको शंका रहनु स्वभाविक भएपनि केही व्यक्तिले सामाजिक सञ्जालमा घटनालाई अतिञ्जित गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले ध्यानाकर्षण जनाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *