कर्णाली र सुदूरपश्चिमबीच व्हिचेयर बास्केटबल

कर्णाली र सुदूरपश्चिम बीच व्हिचेयर बास्केटबल खेल आयोजना गरिएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा बुधबार स्पाइनल इन्जुरी युनियनले सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा व्हिचेयर बास्केटबल खेल आयोजना गरेको हो । उक्त खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीबीच मैत्रीपूर्ण खेल भएको थियो ।
खेलमा कर्णाली प्रदेशको तर्फबाट स्पाइनल इन्जुरी युनियन र सुदूरपश्चिम प्रदेशको तर्फबाट एपी इन्क्लुसिभ पारा एथलेटिक्स स्पोट्र्स क्लव सहभागी भएका हुन् । अपांगता भएका व्यक्तिहरु आत्मविश्वासी, सक्षम र सम्मानजनक अवस्थामा सक्रिय जीवन बाँच्न पूर्णरुपमा सक्षम छन् भन्ने सन्देश दिन खेल आयोजना गरिएको स्पाइनल इन्जुरी युनियनका संयोजक दिव्या खड्काले बताए । ‘हामी अपांगता भएका व्यक्तिहरु पनि सक्षम छौं, आत्मविश्वासका साथ सक्रिय भएर जीवन जिउन सक्छौं भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो ।’ उनले भने ।
अपांगता भएका व्यक्तिहरुले भोग्दै आएका लाञ्छना र भेदभावलाई चुनौती दिने सृजनशील र प्रभावकारी माध्यमका रुपमा व्हिचेयर बास्केटबल खेल भएको सेभ द चिल्ड्रेनका पैरवी तथा सञ्चार निर्देशक आयुश जोसीले बताए । ‘खेलमार्फत खेलाडीहरुले केवल पूर्वाहग्रह तोडिरहेका छैनन्, उनीहरुले शक्तिशाली रोलमोडलका रुपमा अपांगता अधिकार, जवाफदेहिता र सार्थक सहभागिताका पक्षमा वकालत गरिरहेका पनि छन्,’ उनले भने, ‘खेलमा खेलाडीबीचको अन्तक्र्रियाका माध्यमबाट अपांगता भएका व्यक्तिहरुप्रतिको बुझाई, दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको छ ।
उक्त खेलकुद कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारले अपांगता भएका व्यक्तिहरुका लागि समावेशी सेवाहरुमा पहुँच पुग्ने वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताए । चेतनामुलक गतिविधि प्रवद्र्धन र अपांगता अधिकारलाई अघि बढाउन सरकारले निरन्तर काम गर्ने मन्त्री भण्डारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *