- दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा ८१६ मिटर लामो तटबन्ध निर्माण भएपछि वर्षौंदेखि बाढी र कटानको जोखिममा रहेको बस्ती सुरक्षित बनेको छ।
- रु ५ करोड १६ लाख ६७ हजार लागतमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगरमार्फत निर्माण गरिएको तटबन्धले स्थानीयलाई डुबानको त्रासबाट राहत दिएको छ।
- अझै महाकाली नदीतर्फ करिब ४ सय मिटर तटबन्ध आवश्यक रहेको र स्रोत अभावका कारण केही नदी नियन्त्रण योजनामा करिब रु १० करोड बजेट अपुग रहेको जनाएको छ।
दोधारा चाँदनी । वर्षौंदेखि बाढीको मार खेप्दै आएको कुतियाकवर बस्ती जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि सुरक्षित बनेको छ । दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा ८ सय १६ मिटर लामो तटबन्ध निर्माण भएसँगै स्थानीयले बाढी र डुबानको त्रासबाट राहत महसुस गरेका छन् । पूर्वमा महाकाली नदी र उत्तरमा जोगबुढा नदी को दोसाँधमा रहेको यो बस्ती हरेक वर्ष वर्षायाममा डुबान र कटानबाट प्रभावित हुँदै आएको थियो। नदीको कटानका कारण विगतमा बिघौँ जग्गा महाकालीमा समाहित भएको स्थानीय खडक बुढाले बताए । उनका अनुसार तटबन्ध निर्माणपछि वर्षायाममा अन्यत्र बसाइ सर्नुपर्ने बाध्यता हटेको छ ।

वडाध्यक्ष चन्द्रबहादुर सिंहले तटबन्धले बस्तीलाई सुरक्षित बनाएको र आगामी दिनमा अन्य स्थानमा पनि यस्ता संरचना निर्माण हुँदै गएको जानकारी दिए । उनका अनुसार महाकाली नदीतर्फ करिब ४ सय मिटर क्षेत्रमा अझै तटबन्ध आवश्यक छ ।
गत आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगर मार्फत रु ५ करोड १६ लाख ६७ हजार लागतमा शंकर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरी तटबन्ध निर्माण गरिएको हो । सम्झौताअनुसार २०८२ चैत २५ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
आयोजनाका प्रमुख रञ्जनराज भट्टराईका अनुसार कञ्चनपुरका महाकाली, जोगबुढा र दोदा नदी तथा कैलालीको मोहना–कुटिया क्षेत्रमा समेत नदी नियन्त्रणका काम भइरहेको छ। तर स्रोत अभावका कारण केही योजनामा करिब रु १० करोड बजेट अपुग रहेको उनले बताए । विसं २०२२ सालदेखि बसोबास रहेको कुतियाकवरमा डेढ सय परिवार बसोबास गर्दै आएका थिए। नदी कटान बढेपछि करिब १ सय परिवार विस्थापित भइसकेका छन् । तटबन्ध निर्माणपछि अब पलायन रोकिने अपेक्षा स्थानीयको छ ।








