डोल्पा । निर्वाचनको मिति नजिकिँदै जाँदा उपल्लो डोल्पाका हिमालपारिका बस्तीहरू फेरि एकपटक दुर्गमता र लोकतान्त्रिक अभ्यासबीचको दूरी महसुस गरिरहेका छन् । कागजमा समान देखिने लोकतन्त्र यहाँको कठोर भूगोलका कारण व्यवहारमा अझै चुनौतीपूर्ण बनेको छ । चीनअन्तर्गतको तिब्बत स्वायत्त क्षेत्रसँग जोडिएका उत्तरी सीमावर्ती गाउँहरू हिउँ, चिसो र कठिन उकालोले घेरिएका छन् । सदरमुकाम दुनैबाट दिनौं लाग्ने पैदल दूरी र अनिश्चित मौसमका कारण ती बस्तीमा उम्मेदवारहरूको प्रत्यक्ष उपस्थिति देखिएको छैन ।

दुर्गमता र भौगोलिक कठिनाइका कारण प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका दलका प्रत्यासीहरू अहिलेसम्म घरदैलो अभियानमा पुग्न सकेका छैनन्। गाउँमा चुनावी सभा, भाषण वा प्रत्यक्ष भेटघाट हुन सकेको छैन । रेडियो र सामाजिक सञ्जालमार्फत प्रचार सन्देश पुगे पनि मतदाताले उम्मेदवारको अनुहार नदेखेरै निर्णय लिनुपर्ने अवस्था बनेको छ । उपल्लो भेगअन्तर्गत डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका बस्तीहरूमा यसपटक पनि चुनावी गतिविधि सीमित देखिएको छ । केही समयअघि नेपाली कांग्रेसको प्रचारप्रसार टोली भने ती क्षेत्रमा पुगेर घरदैलो र साना भेटघाट कार्यक्रम गरेको बताइएको छ। तर उम्मेदवार स्वयं भने अझै ती बस्तीमा पुगेका छैनन् ।
स्थानीय बासिन्दाका अनुसार प्रत्यक्ष संवादको अवसर नपाउँदा मतदाताले उम्मेदवारबारे पर्याप्त जानकारी लिन सकिरहेका छैनन् । लोकतान्त्रिक अभ्यासमा मतदाता र उम्मेदवारबीचको प्रत्यक्ष संवाद महत्त्वपूर्ण मानिन्छ । तर भौगोलिक कठिनाइले यहाँ त्यो अभ्यास कमजोर देखिएको छ । सदरमुकाम दुनैबाट टाढा रहेका ती बस्तीमा राज्यको उपस्थिति न्यून महसुस हुने गरेको स्थानीय बताउँछन् । उपल्लो डोल्पाका तीन गाउँपालिकामा कुल ४ हजार ३ सय ६६ मतदाता रहेका छन् । मतदान निर्धारित मितिमै हुने तयारी भए पनि दुर्गमता, दूरी र संवाद अभावको चुनौतीबीच उपल्लो डोल्पाको चुनावी परिदृश्य यसपटक पनि विशेष परिस्थितिमा अघि बढिरहेको छ ।








