प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा जारी मतगणनाको प्रारम्भिक नतिजाले यहाँका मतदाताको राजनीतिक झुकाव अझै परम्परागत दलतर्फ रहेको संकेत गरेको छ । कर्णालीका अधिकांश निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले अग्रता लिइरहेका छन् । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अपेक्षाअनुसार परिणाम ल्याउन सकेको देखिँदैन । देशका विभिन्न भागमा रास्वपाका उम्मेदवारले कडा प्रतिस्पर्धा गरिरहेका बेला कर्णालीमा भने त्यो प्रभाव सीमित देखिएको छ । सुर्खेत–१ का टेकबहादुर सिंह, सुर्खेत–२ का रमेश कुमार सापकोटा र दैलेख–१ का नन्दकिशोर बस्नेत, सल्यान १ मा ललित बहादुर चन्द बाहेक अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवार उल्लेख्य प्रतिस्पर्धामा देखिएका देखिएनन् । तर सुर्खेत–२ मा सापकोटा उम्मेदवार सापकोटाले विजयी भएपनि अन्य उम्मेदवारको राम्रो के्रज देखिएन । यस अवस्थालाई केवल चुनावी परिणामको रूपमा मात्र होइन, कर्णालीको राजनीतिक संरचना र सामाजिक यथार्थसँग जोडेर बुझ्न आवश्यक छ ।

कर्णालीमा पुराना दलहरूको संगठनात्मक संरचना गाउँ–गाउँसम्म फैलिएको छ । दशकौँदेखि स्थापित स्थानीय नेतृत्व, कार्यकर्ता सञ्जाल र राजनीतिक सम्बन्धले मतदातामाथि प्रभाव पारिरहेको छ । यसले चुनावी परिणाममा प्रत्यक्ष प्रभाव पार्नु स्वाभाविक नै हो । अर्को महत्त्वपूर्ण पक्ष उम्मेदवारको स्थानीय पहिचान र पहुँच हो । कर्णालीका धेरै मतदाताले लामो समयदेखि आफ्नो क्षेत्रमा सक्रिय, परिचित र सहज रूपमा भेटघाट हुने उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ । नयाँ दलका उम्मेदवारहरूले राष्ट्रिय स्तरमा चर्चा पाए पनि स्थानीय स्तरमा निरन्तर सम्पर्क र संगठन विस्तार गर्न पर्याप्त समय पाएका छैनन् । यही कारण उनीहरू ग्रामीण तथा दुर्गम क्षेत्रमा प्रभाव विस्तार गर्न संघर्षरत देखिन्छन् । यसका साथै कर्णालीको सामाजिक संरचना पनि चुनावी परिणाममा प्रभाव पार्ने पक्ष हो । यहाँ अझै पनि परिवार र समुदायको सामूहिक निर्णयले मतदान व्यवहारलाई प्रभाव पार्ने गरेको पाइन्छ । विदेश वा देशका अन्य शहरमा रहेका युवाहरूको राजनीतिक झुकाव फरक भए पनि अन्ततः मतदान गर्ने परिवारजनले परम्परागत दललाई रोज्ने अवस्था पनि देखिन्छ । यस्तो सामाजिक यथार्थले नयाँ राजनीतिक शक्तिका लागि चुनौती थपिएको छ । तर यसलाई नयाँ दलको पूर्ण असफलताका रूपमा मात्र बुझ्नु उचित हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै राष्ट्रिय राजनीतिमा उपस्थिति जनाएको छ । कर्णालीमा पनि समानुपातिकतर्फ सम्मानजनक मत प्राप्त हुने अनुमान गरिएको छ । यदि यस मतलाई संगठन विस्तारको आधारका रूपमा उपयोग गर्न सकियो भने आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण देखिन सक्ने सम्भावना पनि रहन्छ ।
निर्वाचन लोकतन्त्रको मूल आधार हो । मतदाताले आफ्नो विवेक प्रयोग गरेर प्रतिनिधि चयन गर्ने प्रक्रिया नै लोकतान्त्रिक अभ्यासको सार हो । त्यसैले चुनावी परिणाम जसको पक्षमा आए पनि सबै दल र उम्मेदवारले जनमतलाई सम्मान गर्नुपर्छ । हारलाई आत्मसमीक्षाको अवसर र जितलाई जनसेवाको जिम्मेवारीका रूपमा लिनु नै स्वस्थ लोकतान्त्रिक संस्कार हो । अहिले कर्णालीका अधिकांश जिल्लामा मतगणना जारी छ भने केही दुर्गम स्थानमा मतपेटिका ढुवानीका कारण गणनामा ढिलाइ भएको छ । अन्तिम परिणाम आउन अझै केही समय लाग्ने भए पनि प्रारम्भिक नतिजाले कर्णालीमा परम्परागत राजनीतिक शक्तिको प्रभाव अझै कायम रहेको स्पष्ट संकेत दिएको छ । तर लोकतन्त्र स्थिर र स्थायी हुने प्रक्रिया होइन; यो निरन्तर परिवर्तनशील अभ्यास हो। आजको परिणामले भोलिको राजनीतिक दिशालाई पूर्ण रूपमा निर्धारण गर्दैन । नयाँ दलहरूले संगठन सुदृढ गर्दै जनतासँग निरन्तर सम्पर्क बढाए भने आगामी दिनमा मतदाताको मनोविज्ञान पनि परिवर्तन हुन सक्छ । त्यसैले अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जनताको निर्णयलाई सहज रूपमा स्वीकार गर्नु हो । लोकतन्त्रमा अन्तत ः जनमत नै सर्वोच्च हुन्छ। जनताले देखाएको यही जनदिशालाई सम्मान गर्दै सबै राजनीतिक शक्ति अगाडि बढ्नु नै समयको माग हो ।








