सुर्खेत । चौकुने गाउँपालिकाका ६९ वर्षीय छिताराम परियारले बड्डीचौर–खम्बागाडे सडक बन्ने आशामा जीवनका धेरै वर्ष बिताए । उनले तीन दशकदेखि नै गाउँमा सडकको ट्रयाक खुलेको, सवारी गुडेको र स्तरोन्नतिको काम पनि सुरु भएको देखे तर पक्की सडकमा सहजै यात्रा गर्ने उनको धोको पुरा भएन । अहिले सडकको अवस्था हेर्दासडक बन्ला भन्ने आशा नै हराउँदै गएको बताउँछन् । ‘यो बाटो बन्ला भनेर धेरै वर्ष कुरियो,’ उनले भने, ‘उमेर पनि ढल्किसक्यो । तीन दशकसम्म बाटो बनेन, अब बन्छ भन्ने आशै मरिसक्यो ।’

उनका लागि मात्रै होइन, पश्चिम सुर्खेतका हजारौं नागरिकका लागि बड्डीचौर–खम्बागाडे सडक लामो समयदेखि सुविधाभन्दा बढी सास्तीको माध्यम बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गतको १३ दशमलव ९ किलोमिटर सडक निर्माणको कामले अपेक्षित गति नलिँदा स्थानीयले वर्षायाममा हिलो, खाल्डाखुल्डी र जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सडक निर्माणको काम अहिले ५० प्रतिशत भौतिक र ४० प्रतिशत वित्तीय प्रगतिमा सीमित छ ।
बड्डीचौर–खम्बागाडे सडकको ट्रयाक २०४९ सालमै खुलेको थियो । २०५१ सालदेखि यस सडकमा सवारी साधन सञ्चालन हुन थालेका थिए । ट्रयाक खुलेपछि सडकले पश्चिम सुर्खेतका बस्तीलाई वीरेन्द्रनगरसँग जोड्न थाले पनि वर्षौंसम्म यसको अवस्था कच्ची नै रह्यो । सडक स्तरोन्नति हुने र कालोपत्र हुने अपेक्षा स्थानीयले लामो समयदेखि गर्दै आएका थिए ।
मदन भण्डारी राजमार्गअन्तर्गत यो खण्डलाई स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेपछि २०७९ असारमा अनुक–जयदेव जेभी, बाँकेसँग ठेक्का सम्झौता भयो । सम्झौतापछि २०७९ साउनबाट निर्माणको काम सुरु भएको हो । ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको सडक २०८१ असार २४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभित्र काम पूरा हुन सकेन ।
निर्माण सुरु भए पनि सडकको कामले निरन्तरता पाउन सकेन । सडक निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण, रुख कटानलगायतका सरकारी प्रक्रियामा ढिलाइ हुँदा निर्माण प्रभावित भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । ती प्रक्रियाहरु २०८२ साउनतिर मात्रै पूरा भएका थिए । सरकारी प्रक्रिया टुंगिन ढिला हुँदा निर्माण कम्पनीले काम अघि बढाउन नसकेको र त्यसको असर समग्र निर्माण तालिकामा परेको हो ।
ठेक्का सम्झौता अनुक–जयदेव जेभीसँग भए पनि जयदेव जेभीले सहायक ठेकेदारका रुपमा काम सम्हालेको थियो । पछि जयदेवबाट कामले अपेक्षित गति लिन नसकेपछि मुख्य ठेकेदार अनुक कन्स्ट्रक्सनले नै निर्माणको सम्पूर्ण जिम्मेवारी लिएर काम अघि बढाएको हो ।
अघिल्लो वर्ष तिहारपछि केही समय काम भए पनि त्यसपछि निर्माणमा निरन्तरता देखिएन । ठेकेदार कम्पनीका प्रतिनिधि शंकर रावतले यसअघि मनसुन सुरु हुनुअघि अधिकांश काम सम्पन्न गर्ने बताएका थिए । उनले निर्माणमा जनशक्ति अभाव र नदीजन्य सामग्रीको समस्याले काम प्रभावित भएको बताएका थिए । मनसुनमा यात्रुलाई आवतजावतमा सहज हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका उनले सडक निर्माण २०८४ असारसम्म पूरा गर्ने बताएका छन् ।
तर निर्माण कम्पनीको प्रतिबद्धताअनुसार कामको गति बढ्न सकेको छैन । अहिले पनि सडक निर्माणको काम भइरहेको भए पनि अपेक्षित प्रगति हुन नसकेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रजंग शाही बताउँछन् । उनका अनुसार ठेकेदार कम्पनीले तीन समूह बनाएर मनसुनकै समयमा पनि काम गरिरहेको छ । तर निर्माणको समग्र गति अझै सन्तोषजनक छैन । ‘अहिले काम भइरहेको छ ।
तर अझै तीव्र गतिमा काम हुन सकेको छैन । हामीले ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौं,’ उनले भने, ‘ठेकेदारले तीन समूह बनाएर काम गरिरहेको छ । मनसुनमा पनि काम रोकिएको छैन । तर जुन गतिमा काम हुनुपर्ने हो, त्यो गतिमा काम भएको छैन ।’ सडक निर्माणमा वनसम्बन्धी काम, निर्माण सामग्रीको मूल्य बढ्नु, बिटुमिनको अभाव र नदीजन्य सामग्रीको समस्या पनि देखिएको इन्जिनियर शाहीको भनाइ छ । उनका अनुसार वनसम्बन्धी काम सकिएको जानकारीसहितको पत्र पनि असार २३ गते प्राप्त भएको हो ।
निर्माणमा ढिलाइ भएपछि ठेक्काको म्यादसमेत थपिएको छ । निर्देशनालयले पहिलोपटक २०८३ असारसम्म म्याद थपेको थियो । उक्त अवधिमा पनि काम अपेक्षित रूपमा अघि नबढेपछि असारपछि दुई महिना मात्रै म्याद थप गरिएको थियो । त्यसपछि ठेकेदार कम्पनीले काम गरिरहेको भन्दै थप म्यादका लागि फाइल मन्त्रालय पठाइएको छ । निर्देशनालयले २०८४ जेठ २४ सम्म म्याद थपका लागि फाइल पठाएको भए पनि त्यसको स्वीकृति भने अझै आइसकेको छैन ।
सडक निर्माणको ढिलाइले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ । पश्चिम सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकाका नागरिकका लागि यो सडक मुख्य आवतजावतको मार्ग हो । यही सडक हुँदै उनीहरू प्रदेश राजधानी वीरेन्द्रनगर पुग्छन् । बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्था होस् वा विद्यार्थी, कर्मचारी, व्यवसायी र सर्वसाधारणको दैनिक यात्रा, सडकको अवस्थाले सबैलाई प्रभावित बनाएको छ ।
चौकुने गाउँपालिका–१ का स्थानीय युवा जीवन तिरुवा सडकको अवस्थाले नागरिकलाई वर्षौंदेखि दुःख दिइरहेको बताउँछन् । उनका अनुसार सडक निर्माण सुरु भएपछि स्थानीयले यसपटक भने धेरै काम पूरा हुने अपेक्षा गरेका थिए । तर मनसुन आइसक्दा पनि अपेक्षाअनुसार काम अघि नबढेपछि नागरिकमा निराशा बढेको छ ।
‘बड्डीचौर–खम्बागाडे सडक वर्षायाममा हिलो र हिउँदमा धुलो खाने सडकजस्तो बनेको छ,’ उनले भने, ‘लामो समयदेखि निर्माणाधीन यो बाटा नबन्दा हामीले दैनिक आवतजावतमा ठूलो समस्या भोगिरहेका छौँ, विशेषगरी बिरामी, गर्भवती, ज्येष्ठ नागरिक र विद्यार्थीलाई धेरै समस्या हुन्छ ।’
केही महिनाअघि बिरामीलाई उपचारका लागि अस्पताल लैजानुपर्दा यही सडकको खराब अवस्थाका कारण यात्रा निकै ढिलो र कष्टकर भएको पनि उनले सुनाए । बाटोमै सवारी साधन बिग्रिने र बिरामीलाई थप समस्या हुने अवस्था पनि भोग्नुपरेको तिरुवाको गुनासो छ ।
‘वर्षायाममा हिलो र खाल्डाखुल्डीले अवस्था झन् कठिन हुन्छ,’ उनले भने, ‘विकासका नाममा वर्षौंसम्म नागरिकलाई धुलो, हिलो, खाल्डाखुल्डी र जोखिममा राख्नु हुँदैन । सम्बन्धित निकायले सडक निर्माणको वास्तविक अवस्था र ढिलाइको कारण मात्रै होइन, अब कहिलेसम्म सडक सम्पन्न हुन्छ भन्ने स्पष्ट समयसीमा पनि सार्वजनिक गर्नुपर्छ ।’
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकका अनुसार सडकको पछिल्लो भागमा कालोपत्रको काम अघि बढिसक्दा अघिल्लो भागमा निर्माण सुस्त हुनु स्थानीयका लागि थप अन्याय भएको छ । उनलेसडकको एउटा भागमा काम अघि बढ्ने तर अर्को भाग लामो समयसम्म अलपत्र रहने अवस्थाले नागरिकलाई अपेक्षित सुविधा दिन नसकेको गुनासो गरे ।
‘सडकको पछिल्लो भाग कालोपत्र भएको छ,’ उनले भने, ‘पछिल्लो भागजस्तै गरी अघिल्लो भागमा पनि त्यहीअनुसार काम अघि बढ्नुपर्छ । वर्षौंदेखि सडकको समस्या भोगिरहेका नागरिकले अब फेरि म्याद थपिएको मात्रै सुन्ने होइन, सडक निर्माण सम्पन्न भएको देख्न चाहेका छन् ।’
बड्डीचौर–खम्बागाडे खण्डको अवस्था हेर्दा मदन भण्डारी राजमार्गको पूर्वी र पश्चिमी खण्डको प्रगति पनि समान छैन । सुर्खेततर्फकै धुलियाबिट–भेडाबारी खण्ड ३५ किलोमिटर लामो छ । यो सडकको ट्रयाक पनि पुरानै हो र २०३२ सालमै खुलेको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत स्तरोन्नति गरिएको उक्त खण्डमा असार २०८२ सम्म ३३ किलोमिटर सडक कालोपत्र भइसकेको र १२ मध्ये ११ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । त्यसको तुलनामा बड्डीचौर–खम्बागाडे खण्ड अझै ५० प्रतिशत भौतिक प्रगतिमै छ ।
पश्चिमतर्फ बड्डीचौर–खम्बागाडेपछि पनि राजमार्ग निर्माणका अन्य खण्ड बाँकी छन् । खम्बागाडे–विद्यापुर १० दशमलव ३ किलोमिटर, विद्यापुर–गुटु–बिजौरा–बाल्दे २२ किलोमिटर र बाल्दे–लागम १५ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । त्यसपछि लागम–धनरास–धमिसैन–पाल्पाघाटतर्फको सडकले पश्चिम सुर्खेतलाई थप पश्चिमका क्षेत्रसँग जोड्नेछ । यी खण्डको निर्माण अघि बढ्नु पनि बड्डीचौर–खम्बागाडे सडकसँगै पश्चिम सुर्खेतको समग्र सडक पहुँचका लागि महत्वपूर्ण छ ।







