२०८३ असार २६ , शुक्रबार

बाटोमै सुत्केरी हुनु पर्ने बाध्यता



बाजुरा । बाजुरा का दुर्गम बस्तीका धेरै गर्भवती महिलाले अहिले पनि स्वास्थ्य संस्थासम्म समयमै पुग्न नसक्दा बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता भोगिरहेका छन्। भौगोलिक विकटता र स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा यस्तो समस्या बारम्बार देखिने गरेको छ ।

यहाँका विभिन्न पालिका र वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना भए पनि ती संस्थासम्म पुग्न गर्भवती महिलालाई चारदेखि पाँच घण्टासम्म हिँड्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्। यही कारण कतिपय महिलाले स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै शिशु जन्माउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ।

सोमबार स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँ भैँसेडाँडाकी २६ वर्षीया डोइला भण्डारी ले स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै छोरीलाई जन्म दिएकी हुन्। सुत्केरी गराउनका लागि बिहान घरबाट हिँडेकी भण्डारीलाई बाटोमै बेथा लागेपछि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको परिवारले जनाएको छ। त्यसपछि आफन्तले फयालगाउँस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी विष्णु रोकाया लाई फोन गरेर घटनास्थलमा बोलाएका थिए। स्वास्थ्यकर्मी रोकायालाई त्यहाँ पुग्न करिब दुई घण्टा लागेको थियो। उनले भण्डारीलाई स्लाइन लगाएपछि भण्डारीले बाटोमै छोरीलाई जन्म दिएकी थिइन्।

भण्डारीका अनुसार स्वास्थ्य संस्था पुग्ने क्रममा अचानक बेथा सुरु भएपछि आफन्तले स्वास्थ्यकर्मीलाई बोलाएका थिए। स्वास्थ्यकर्मी आएर परीक्षण तथा उपचार गरेपछि आफूले सुरक्षित रूपमा बच्चा जन्माउन सकेको उनले बताइन् । हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि पनि बाजुराका विभिन्न ठाउँमा यस्तै घटना दोहोरिने गरेका छन्। गत वर्ष कमला कठायतसहित तीन जना महिलाले बाटोमै शिशु जन्माएका थिए।

केही वर्षअघि बुढीनन्दा गाउँपालिका–४ कुरुकी पानसरा रोकाया, खप्तड छेडेदह गाउँपालिका–२ काँडाकी उज्जली सुनार, गौमूल गाउँपालिका–३ माझपालीकी भाग्य चदारा र हिमाली गाउँपालिका–१ बामुकी नानी रोकायाले पनि बाटोमै बच्चा जन्माएका उदाहरण छन्। त्यस्तै हिमाली गाउँपालिका–२ नातीखोलाकी पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी कार्तिका विक र बुढीगंगा नगरपालिका–७ सिमलकोटकी सिर्जना केसीले पनि स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमै सुत्केरी भएका थिए। बाजुरामा बाटोमै सुत्केरी हुने घटनाको यकिन तथ्याङ्क नभए पनि वर्षमा चारदेखि पाँच जना गर्भवती महिलाले यस्तो समस्या भोग्ने गरेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन्। गर्भवती महिलाका लागि सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि दुर्गम क्षेत्रका लागि त्यो प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार