२०८३ वैशाख ३ , बिहीबार

पहिचान झल्किने प्रवेशद्वार निर्माण



डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिकाले त्रिपुरासुन्दरी नगरपालिकासँग जोडिएको भेत्ती खोलामा ऐतिहासिक प्रवेशद्वार निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाको पहिचान, गौरव र सिमानाको स्पष्टता कायम गर्ने उद्देश्यले उक्त प्रवेशद्वार निर्माण गर्न लागिएको हो ।


नगर प्रमुख सुवर्ण कुमार बुढाका अनुसार भेत्ती खोलामा निर्माण गरिने प्रवेशद्वारले नगरपालिकाको सिमाना स्पष्ट रूपमा चिनाउने मात्र नभई नगर क्षेत्रमा प्रवेश गर्ने स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई आत्मीय र न्यानो स्वागत गर्ने प्रतीकका रूपमा रहनेछ । ठूलीभेरी नगरपालिकाको मौलिकता, संस्कृति र सौन्दर्यलाई समेत झल्काउने गरी विशिष्ट शैलीमा प्रवेशद्वार निर्माण गरिनेछ । नगरको चौतर्फी विकास, सौन्दर्य अभिवृद्धि तथा पहिचान मजबुत बनाउन नगरपालिका निरन्तर प्रतिबद्ध रहेको नगरप्रमुख बुढाले बताए ।

यसैबीच शुक्रबार नगर प्रमुख बुढाको नेतृत्वमा त्रिपुरासुन्दरी नगरपालिका र ठूलीभेरी नगरपालिकाको सिमाना पर्ने भेत्ती क्षेत्रमा प्रस्तावित प्रवेशद्वार निर्माण स्थलको स्थलगत अनुगमन तथा प्राविधिक निरीक्षण गरिएको हो। अनुगमनमा इन्जिनियर हिरा बहादुर बोहोरा, प्राविधिक शचन्द्रदेव बडु लगायतको टोली सहभागी थियो। प्रवेशद्वार निर्माण भएपछि यसले नगरको सिमाना चिनाउने मात्र नभई सामाजिक, सांस्कृतिक तथा पर्यटकीय सन्देश दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार