२०८३ जेठ १२ , मंगलबार

मध्यपूर्व हल्लाले डोल्पामा एलपी ग्यास किन्ने होड, बजारमा अभावको त्रास



डोल्पा । डोल्पाको सदरमुकाम दुनै बजारसहित आसपासका क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव हुने त्रास फैलिएको छ । ग्यास अभाव हुने हल्ला फैलिनासाथ होटल व्यवसायी तथा स्थानीय बासिन्दाले सिलिन्डर किनेर भण्डारण गर्न थालेपछि बजारमा एक्कासी माग बढेको ब्यवसायी रामबहादुर रानाले बताए ।

सरकारले मध्यपूर्वका विभिन्न देशमा जारी युद्धलाई मध्यनजर गर्दै ग्यास वितरणमा सावधानी अपनाउन तथा आधा सिलिन्डर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको चर्चा भएपछि डोल्पामा पनि ग्यास संकट पर्ने आशंका बढेको स्थानीय टिकादत्त न्यौपानेले बताए।उनका अनुसार आवश्यकताभन्दा बढी ग्यास खरिद गर्ने प्रवृत्ति बढेको छ ।

ग्यास व्यवसायीहरूका अनुसार पछिल्लो दुई दिनयता डोल्पामा जति ग्यास आइपुगे पनि तुरुन्तै बिक्री भइरहेको छ। अचानक माग बढेपछि हाल बजारमा ग्यास अभाव देखिएको र थप सिलिन्डर मगाउने प्रक्रिया चलिरहेको उनीहरूले बताएका छन् । यता सरकार भने नेपालमा एलपी ग्यासको आयात नियमित भइरहेकाले अभाव नहुने बताउँदै अनावश्यक त्रास नफैलाउन आग्रह गरेको छ ।

यद्यपि मध्यपूर्वको तनावका कारण डोल्पामा पनि ग्यास संकट हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा बढेको देखिन्छ । पछिल्ला वर्षहरूमा डोल्पाका गाउँबस्तीमा छिटो र सहज हुने भएकाले एलपी ग्यास प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । यसैबीच केही उपभोक्ताले ग्यास संकटको हल्ला फैलाएर मूल्य बढाउने उद्देश्यले व्यवसायीहरूले सिलिन्डर लुकाएको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार