२०८३ जेठ १२ , मंगलबार

इनिशा विक हत्याकाण्डमा निष्पक्ष छानबिनको माग गर्दै सुन–चाँदी व्यवसायीको ज्ञापनपत्र



सुर्खेत । सुर्खेतमा १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै सुन–चाँदी व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
कर्णाली सुन–चाँदी, रत्न तथा आभूषण संघ ले प्रमुख जिल्ला अधिकारीमार्फत प्रशासन समक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको स्वतन्त्र र दबाबरहित छानबिन गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी तथा कक्षा ११ मा अध्ययनरत इनिशा विक २०८२ फागुन २३ गते बिहान ट्युशन पढ्न घरबाट निस्किएपछि बेपत्ता भएको उल्लेख छ । पछि खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस, रक्ताम्ये र नग्न अवस्थामा भेटिएको र घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको देखिएको जनाइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा अनमोल गौलीसहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको उल्लेख गर्दै संघले उक्त घटना अत्यन्त दुःखद, अमानवीय र समाजलाई स्तब्ध बनाउने खालको भएको जनाएको छ ।

संघले राज्यका अनुसन्धान निकायबाट कुनै पनि दबाब बिना स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ । साथै, निष्पक्ष छानबिनका लागि सुर्खेत जिल्लाका सम्पूर्ण सुन–चाँदी व्यवसायी एकजुट रहेको जानकारी गराएको छ । संघका अध्यक्ष दिनेश घिमिरे र महासचिव मदन कुमार सिंहले हस्ताक्षर गरेको ज्ञापनपत्रमार्फत पीडितलाई न्याय दिलाउन प्रशासनसँग गम्भीर पहल गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार