सुर्खेत । गुर्भाकोट नगरपालिकामा सातौँ संस्करणको चन्द्र स्मृति कप–२०८३ आयोजना हुने भएको छ । “हाम्रो खेल, हाम्रो गौरव स् चन्द्र स्मृतिमा एकता र सम्मान” भन्ने मूल नारासहित स्वर्गीय चन्द्र बहादुर बुढाको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

मेहलकुना फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी वैशाख १ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ । नयाँ वर्षको अवसर पारेर आयोजना गरिने प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको माहोल थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।
क्लबका अध्यक्ष राजेन्द्र शर्माका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै समुदायमा आपसी एकता, सद्भाव र खेल संस्कृतिको विकास गर्नु हो । प्रतियोगितामा करिब २० वटा टिमहरूको सहभागिता रहने अनुमान गरिएको छ । विभागीय टोलीहरू समेत सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । साथै प्रत्येक नगरपालिका र गाउँपालिकाबाट एक–एक टोलीलाई मात्र सहभागिता दिइने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने विश्वास गरिएको छ ।
खेलकुदसँगै सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने क्लबले जनाएको छ, जसले स्थानीय संस्कृति, कला र पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले प्रतियोगिताको व्यवस्थापन स्थानीय सहयोग र चन्दा संकलनमार्फत गरिने जानकारी दिएका छन् । उनले चन्द्र स्मृति कप कर्णाली प्रदेशमै लोकप्रिय र प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको बताए ।
नगर प्रमुख पुनले खेल क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधार अझै अपुग रहेको उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन, युवाहरूको सहभागिता र सामाजिक एकता सुदृढ गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यो प्रतियोगिताले कर्णाली प्रदेशको खेल क्षेत्रमा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।








