यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) फेरि एक पटक देशव्यापी रूपमा सुरु भएको छ । लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको यो परीक्षा केवल शैक्षिक मूल्यांकनको प्रक्रिया मात्र होइन । हाम्रो शिक्षा प्रणालीको विश्वासनीयता र अनुशासनको पनि कसी हो । यसर्थ, एसईईलाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले परीक्षा व्यवस्थापनमा केही महत्वपूर्ण सुधारहरू लागू गरेको छ । विशेषगरी उत्तरपुस्तिका परीक्षणलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले केन्द्रमै मूल्यांकन गर्ने व्यवस्था सकारात्मक कदम हो । विगतमा देखिएको ढिलाइ, झन्झट र अपारदर्शितालाई न्यूनीकरण गर्न यस्तो प्रयास सराहनीय छ । एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यले पनि विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रलाई राहत दिने अपेक्षा गरिएको छ । तर, केवल प्राविधिक सुधारले मात्र परीक्षा मर्यादित हुँदैन । परीक्षा केन्द्रहरूमा हुने अनुशासनहीनता, नक्कली परीक्षार्थी, चिट चोरी, अनावश्यक दबाब र बाह्य हस्तक्षेप जस्ता समस्या अझै चुनौतीका रूपमा रहेका छन् । यी विकृतिहरूलाई नियन्त्रण नगरी एसईईको स्तर उकास्न सकिँदैन ।

कर्णाली प्रदेशका १० जिल्लाबाट यस वर्ष ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि प्रदेशभर १६१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कर्णालीमा नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थीले परीक्षा दिइरहेका छन् । यो संख्या गत वर्षको तुलनामा ४६१ ले बढी हो । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी विद्यार्थी सुर्खेतमा रहेका छन् । सुर्खेतका ३४ परीक्षा केन्द्रबाट कुल नौ हजार ७७९ विद्यार्थी परीक्षा दिने छन् । जसमा सात हजार २९४ नियमित र दुई हजार ४८५ ग्रेडवृद्धितर्फका छन् । सबैभन्दा कम विद्यार्थी डोल्पामा रहेका छन्, जहाँ चार परीक्षा केन्द्रबाट ६७४ विद्यार्थी मात्र सहभागी भएका छन् । अन्य जिल्लाहरूमा दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षा दिइरहेका छन् । भने जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी सहभागी छन् । अघिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा कर्णालीमा विद्यार्थी संख्या क्रमश वृद्धि हुँदै गएको देखिन्छ । गत वर्ष ३७ हजार ९११ विद्यार्थी सहभागी भएका थिए, भने २०७९ मा ३८ हजार ९७० र त्यसअघि ३५ हजार ८०८ विद्यार्थीले परीक्षा दिएका थिए ।
मर्यादित परीक्षा भन्नाले कडाइ मात्र होइन, न्यायपूर्ण वातावरण पनि हो । विद्यार्थीले निष्पक्ष रूपमा आफ्नो क्षमता प्रस्तुत गर्न पाउने सुनिश्चितता आवश्यक छ । त्यसका लागि परीक्षा केन्द्रमा सुरक्षाको प्रभावकारी व्यवस्था, कडा अनुगमन, शिक्षकहरूको उत्तरदायित्व र स्थानीय प्रशासनको समन्वय अपरिहार्य छ । कर्णाली प्रदेशजस्ता दुर्गम क्षेत्रमा समेत विद्यार्थी संख्या वृद्धि हुनु सकारात्मक संकेत हो । यसले शिक्षा पहुँच विस्तार भइरहेको देखाउँछ । तर, संख्याको वृद्धि मात्र पर्याप्त छैन । गुणस्तरीय र मर्यादित परीक्षा सञ्चालन अझ महत्वपूर्ण पक्ष हो । सबै जिल्लामा समान स्तरको व्यवस्थापन र अनुगमन सुनिश्चित गर्न सकिए मात्र राष्ट्रिय स्तरमा एकरूपता कायम हुन्छ । त्यसैले एसईई केवल परीक्षा होइन, हाम्रो शैक्षिक संस्कारको प्रतिबिम्ब हो । यसलाई मर्यादित बनाउनु राज्य, शिक्षक, विद्यार्थी र अभिभावक सबैको साझा दायित्व हो । सुधारका प्रयासहरूलाई व्यवहारमा उतार्दै, अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्न सकिए मात्र एसईईप्रति जनविश्वास मजबुत बन्नेछ । अबको एसईईलाई केवल औपचारिकता होइन, गुणस्तरीय र मर्यादित मूल्यांकन प्रणालीको रूपमा स्थापित गर्नुपर्छ ।







