जुम्ला । हिमाली जिल्ला जुम्लामा यस वर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक उपलब्ध भएको छ । विगतमा ढिलो पुग्ने समस्या भोग्दै आएका विद्यार्थीका लागि यो पटक समयमै पुस्तक आइपुग्नु राहतको विषय बनेको छ ।

खलङ्गा बजारस्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काका अनुसार कक्षा १ देखि १० सम्मका करिब पाँच–पाँच सय सेट पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन् ।
सामुदायिक विद्यालयको मागअनुसार थप पुस्तक पनि उपलब्ध गराइने उनले बताए । जुम्लाका विद्यालयमा जिपी स्टेसनरी र सन्ध्या स्टेसनरीमार्फत पुस्तक बिक्री वितरण हुँदै आएको छ ।
जिल्लाभर करिब १ सय ४५ सामुदायिक विद्यालय रहेका छन् । भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाका अनुसार यसअघि शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पुस्तक पाउन नसक्ने अवस्था थियो ।
तर यस वर्ष विद्यालय सञ्चालनअघि नै पुस्तक उपलब्ध हुँदा पठनपाठन सहज हुने विश्वास गरिएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय नेपालगन्जले कर्णाली प्रदेशका विभिन्न जिल्लामा समयमै पुस्तक वितरण गरेको हो ।
कार्यालयका प्रमुख रुद्र खनालका अनुसार चैत २४ गतेसम्म ४ लाख ६२ हजारभन्दा बढी पाठ्यपुस्तक बिक्री–वितरण गरिएको छ । उक्त कार्यालयमार्फत कर्णालीका पाँच तथा लुम्बिनी प्रदेशका पाँच गरी १० जिल्लामा पुस्तक पठाइँदै आएको छ ।
सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ, र यसपटक भर्ना अभियानसँगै विद्यार्थीले पुस्तक पनि पाउने अपेक्षा गरिएको छ ।
त्यस्तै जाजरकोटमा पनि समयमै पुस्तक वितरण जाजरकोटमा पनि नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पुग्न थालेका छन् ।
जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरूले पुस्तक खरिद गरी जिल्लाभित्र वितरण सुरु गरेका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले पुस्तक आउने क्रम जारी रहेको जानकारी दिए ।
स्थानीय तहमार्फत विद्यालयसम्म पुस्तक पु¥याउने काम भइरहेको उनले बताए । ठाँटी बजार स्थित राजेन्द्र एन्ड देवेन्द्र पुस्तक पसलका सञ्चालक देवेन्द्रप्रसाद शर्माका अनुसार जिल्लाका धेरै विद्यालयमा पाठ्यपुस्तक पठाइ सकिएको छ ।
शिक्षक डिलबहादुर खत्रीले पनि विद्यालयमा पुस्तक पुगिसकेको पुष्टि गरे । शिवालय गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर बस्नेतले केही दिनभित्रै सबै विद्यालयका विद्यार्थीको हातमा पुस्तक पुग्ने विश्वास व्यक्त गरे ।
जाजरकोटमा ४ सय २३ सामुदायिक विद्यालय रहेका छन्, जहाँ कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।







