सुर्खेत । जन्मिएको तीन महिनामै आगलागीमा परेर दुबै खुट्टा गुमाएकी महिला जसको जीवनको सुरुवात नै असहजताबाट भयो उनकै सक्रियता र नेतृत्वले अहिले सुर्खेतका महिलाको जीवन फेरिएको छ भन्दा धेरैलाइ पत्यार लाग्दैन ।

उनीहरू आर्थिक रूपले सबल छन् र नेतृत्व लिन समेत सक्षम छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका महिलाहरुको आर्थिक अवस्था फेर्न महत्वपूर्ण भूमिका खल्ने महिला हुन् दिपा राना । उनकै नेतृत्वमा अहिले त्यहाका महिलाहरूले विभिन्न व्यवसाय गरेर आर्थिक लाभ लिइरहेका छन् ।
दुवै खुट्टा नहुँदा विद्यालय जान दीपालाइ ठुलो सकस थियो । हातले टेकेर विद्यालय जानु पर्दाको अथाह पिडाले पनि उनको आत्मविश्वासलाइ रोकेन । शारिरिक सिमितताले उनको सोचलाइ सिमित बनाएन । आफू मात्र होइन, गाउँका महिलाहरू पनि अरूको भरमा बाँच्नु पर्ने अवस्थालाइ बदल्ने सपना उनले त्यहि बेलादेखि देखिन् । परिवारको साथ र सहयोगले उनले आँट बटुलिन् र अघि बढिन् ।
वि सं २०६५ सालमा उनले गाउँमा प्रौढ शिक्षा कक्षा सुरु गरिन् । पढ्न–लेख्न सिकाउन थालेपछि उनले महिलाहरूलाई हरेकले २०/२० रुपैयाँ बचत गर्न प्रस्ताव राखिन् । बचत मात्र होइन आय आर्जन पनि गर्नुपर्छ भन्ने सोच बनाएर उनले अम्रिसो खेती र अन्य सामूहिक तरकारी खेती गर्न पनि उनले सुझाइन् । त्यसबाट भएको आम्दानी पनि महिलाहरुले कोषमा जम्मा गरे ।
वि सं २०६७ सालसम्म आइपुग्दा बचत रकम एक लाख पुग्यो र त्यति नै बेला सहकारी छलफल पनि चल्यो । सुरुवात सजिलो थिएन । समूहमा आवद्ध हुन आग्रह गर्न घरदैलोमा जाँदा लखेट्ने, ढुंगा हान्ने घटनासमेत भए । तर दिपाले हार मानिनन् । अन्ततः विसं २०६७ सालमा महिला परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेड नाम राखेर सहकारी दर्ता गरियो। सुरुका दुई वर्ष उनले सहजकर्ताका रूपमा काम गरिन् ।
अहिले उनी व्यवस्थापकका रूपमा काम गरिरहेकि छिन् । सो सहकारीमा अहिले गुर्भाकोटका तीन वडाका १७ सय ४० महिला सदस्य छन् । सहकारीको पुँजी २९ करोडभन्दा बढी र शेयर पुँजी दुई करोड ९७ लाखभन्दा माथि पुगेको उनले जानकारी दिइन् ।
सहकारी, बचत र ऋणमै मात्र सिमीत छैन । आफ्नै बिउ ग्रेडिङ उद्योग सञ्चालन, बिउ पैँचो दिएर उत्पादन गराउने र सहकारीले नै खरिद– बिक्री गर्ने व्यवस्था गरिएको छ । ‘हामीले एक केजी बिउ पैंचो दिन्छौँ,’ उनले भनिन्, ‘पछि उत्पादन भएपछि त्यो बिउ फिर्ता लिने र अरु खरिद गरेर हामीले नै विक्री गरिदिन्छौँ, धान, गहुँ, मकै, कोदो, र अन्य तरकारी पनि लगाउन भन्छौँ ।’
पशु तथा कृषि प्राविधिक सेवा पनि सहकारीले नै दिने गरेको दिपाले बताइन् । यस बिचमा महिलाहरूको निर्णय क्षमतामा आएको परिवर्तनलाई दीपा सबैभन्दा ठूलो उपलब्धि मान्छिन् ।
दीपाको नेतृत्वले सहकारी पनि योजनाबद्ध ढंगले सञ्चालन गरेको छ । वि सं २०६७–०७० सम्म सहकारीको प्रवद्र्धनमा ध्यान दिइयो । २०७०–०७३ सम्म पुँजी विस्तार, २०७४–०७८ सम्म नीति र प्रणाली निर्माण, २०७९–०८३ सम्म सुदृढीकरणका लागि विभिन्न व्यवसाय सुरु गर्ने र २०८४ देखि २०८९ सम्म व्यवसाय छनोट गरेर दीर्घकालीन मोडेलमा लैजाने र २०८९ पछि भने सहकारी स्वचालित रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् । काम गर्दै जाँदा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएकी छिन् । उनी त्यसलाइ व्यक्तिगत नभइ सामूहिक उपलब्धि मान्छिन् ।
करिब १३ वर्षअगाडि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की भुमिसरा श्रेष्ठ सामाजिक परिचालकको रुपमा आफ्नै वडामा गठन भएका महिला समूहहरु सञ्चालन गर्थिन् । एउटा वडाका १५ देखि २० जना महिलाहरुको समूह चलाउनु भन्दा सहकारी नै सञ्चालन गरेर धेरै महिलालाई उद्यमी बनाउन सकिन्छ भन्ने उनलाइ जहिल्यै लागि रहन्थ्यो।
तर त्यसका लागि उनी एक्लैको आँटले मात्रै पुग्दैनथ्यो । अन्तराष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपाललेवीरेन्द्रनगरका १ देखि १२ नम्बर वडासम्म गठन गरेका महिला समूहहरुमा उनले सहकारीको योजना सुनाइन्।
‘हेफरको परियोजना सक्किएपछि एउटा समूहमा करिब एक–दुई लाख रूपिया बचेको थियो,’ उनले भनिन्, ‘सहकारी खोलेको खण्डमा बचत भएको रकमको उचित सदुपयोग हुने सुझाव महिला दिदी बहिनी समक्ष राखे उहाँहरुले पनि सहमति जनाउनुभयो ।
’ अन्ततः महिला समूहमा आवद्ध महिलाहरुको आँट र साहसले सहकारी खोल्ने निधो ग¥यो । श्री सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था, वीरेन्द्रनगर–१ भनी नामाकरण पनि गरियो । इन्द्रा चालिसेको संयोजकत्वमा तदर्थ समिति गठन गरी वि सं २०६९ सालमा सहकारी दर्ता गरियो । सो सहकारीमा ९२ जना महिला सहभागि थिए ।
सहकारी के–कसरी सञ्चालन गर्ने भन्ने कुरा थाहा नभएरै पनि त्यतिबेला आँट गरेको भूमिसरा सुनाउँछिन् । सोही समयदेखिनै उनी सहकारीको व्यवस्थापक भएर काम गरिरहेकी छिन् । ‘वीरेन्द्रनगरमा ठूला–ठूला नाम चलेका सहकारीका अगाडी महिलाले नेतृत्व गरेर सहकारी खोल्नु कम चुनौतीपुर्ण थिएन ।
तर पनि आँट गरियो र सफल पनि भएर देखाइयो,’ उनी भन्छिन् । ९२ जना सदस्यबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर ९२ हजार सेयर पुँजी रहेको उक्त सहकारीको अहिले २२ लाख सेयर पुँजी छ ।अहिले नगरपालिकाको १ देखि ४ नम्बर वडाका ६ सय ५८ जना महिलाहरु सहकारीमा आवद्ध छन् ।
सहकारीबाट ऋण लिएर महिलाहरुले डेरी, अर्गानिक खाद्यवस्तु संकलन केन्द्र, टेलर, विभिन्न कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । महिलाहरुले कर्णालीमा हुने स्थानीय उत्पादनलाई नेपालका विभिन्न जिल्लामा पु¥याइरहेका छन् । करिब २० लाख लगानी गरेर महिलाहरुले कर्णालीको अर्गानिक उत्पादन संकलन तथा विक्री गरिरहेको व्यवस्थापक भुमिसरा बताउँछिन्
कर्णालीकी भुमिसरा मात्र होइन दैलेखकी दुर्गा थापाले विगत चार वर्षदेखि सहकारीको नेतृत्व सम्हालिरहेकी छिन् । सुरुमा सामान्य वचत र ऋण लगानी गर्नका लागि गठन भएको नमुना महिला समुहबाट उनको नेतृत्वमा भगवतीमाई महिला कृषि सहकारी संस्था खोल्न सफल भएपछि उनको यात्रा महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनेतर्फ मोडियो । सहकारीले छोटो समयमा नै सफलता हाँसिल ग¥यो ।
मासिक वचत सय रुपैयाँ मात्रै उठाउने र सेयर रकम आफ्नो इच्छाबमोजिम हाल्ने भनी सुरु गरिएको सहकारीमा वचत बाहेक ८४ हजार सेयर पुँजी थियो । जुन अहिले करिब १९ लाख ९४ हजार पुगेको छ । सहकारीले मुख्यमन्त्री कार्यालयको बिउँपुजी अनुदानमार्फत १५ लाख रूपियाको कार्यक्रम पाएको थियो । जसमा तीन लाख विविध खर्च र १२ लाख बिउँपुजीको लागि ऋण लगानी गरेर पुँजी बढेको अध्यक्ष दुर्गाको भनाइ छ ।
अहिले सहकारीबाट महिलाहरुले तरकारी खेती, बाख्रा पालन, भैँसी पालन, दालमोठ उद्योग सञ्चालन गरिरहेका छन् । सहकारीले आफ्नो कार्यक्रम विस्तार गरी अन्य उद्यम थप गर्ने योजना बनाइरहेको छ । अध्यक्ष दुर्गाले दुना टपरी उद्योग सञ्चालन गर्दा प्रभावकारी हुने देखिएको भन्दै केही समयभित्र उक्त उद्योग खोलिने बताइन् ।
‘महिलाबाट सन्चालित भएकै कारणा सहकारी विश्वास गरिँदैन,’ उनले भनिन्, ‘स्थानीय र प्रदेश सरकारले हामीलाई वेवास्ता गरेको जस्तो लाग्छ, महिलालाई सशक्त बनाउने खालका कार्यक्रमहरु भएको भए सहज हुन्थ्यो ।’ महिलाहरुलाई खासगरि सीपमुलक तालिमको आवश्यकता रहेको उनको भनाइ छ ।
जुम्लाकी विष्णुमाया बुढा तिला गाउँपालिकाकी पुर्व उपाध्यक्ष हुन् । उनी हाल चन्दननाथ वहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष हुन् । उनी गत भदौमा मात्रै उक्त सहकारीकी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । यो भन्दा अगाडी उनले तीन वर्षसम्म सहकारीको कोषाध्यक्षका रुपमा काम गरिन् । सहकारीको स्थापना २०३१ (सहकारीको स्थापना विसं २०३१ सालमा भएपनि विभिन्न कारणले सहकारी बन्द भएपछि २०६८ सालदेखि पुनः सञ्चालनमा आएको हो ।
मा भएको भनिए पनि पुन सन्चालन भने वि सं २०६८ सालमाभएको हो । सहकारीको सुरुवात भने दुर्गा न्यौपानेको नेतृत्वमा भएको उनी बताउँछिन् । सहकारीको अहिले कर्णाली प्रदेशभर शाखा छन् । जसमा २५ हजारभन्दा बढी महिला सदस्य मात्रै छन् ।
सहकारीले प्रदेश भरि २१ वटा सेवा केन्द्र खोलेको अध्यक्ष विष्णुमायाले जानकारी दिइन् । जुम्लामा हुने स्थानीय उत्पादनको खरिद विक्री गर्ने काममा पनि महिलाहरु सक्रिय भएर लागेका छन् । उक्त उत्पादन खरिद तथा विक्रीका लागि जुम्लामा पसल राखिएको छ जसको शाखा सुर्खेत र काठमाडौंमा पनि छ ।
सहकारीको उदेश्य ऋण लिने र दिने मात्र नभई महिलाहरुलाई एक्यवद्ध बनाउने र उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउने रहेको उनको भनाइ छ । ‘सहकारीमा वचत गर्ने, सहकारीबाट ऋण लिने र आफूले उत्पादन गरेका वस्तु फेरि सहकारीमा नै दिने हाम्रो नीति छ,’ उनले भनिन्, ‘ऋणको किस्ता तिर्ने पैसा छैन भने आफुले उत्पादन गरेको वस्तु दिएर किस्ता कटौति गर्न सक्ने व्यवस्था गरिएको छ ।’ किसानलाई बजार नपाएर आफ्ना उत्पादनहरु खेर फाल्न नदिने गरी सहकारीले काम गरेको अध्यक्ष विष्णुमायाले बताइन् ।
सहकारीमा आवद्ध सदस्यहरुले सेयर सदस्य बनेको तीन महिना पुगेपछि तीन लाखदेखि एक करोडसम्म ऋण लिन पाउँछन् । आठ लाखसम्म ऋण लिँदा धितो राख्न नपर्ने उनको भनाइ छ ।
कुनै समय घरधन्दामा मात्रै सिमीत कर्णालीका महिलाहरु अहिले आफै पैसा कमाउने भएका छन् । यति हुदाँ हुदै पनि महिलाले नेतृत्व गरेका सहकारीमाथि मानिसले हत्तपत्त विश्वास नगर्ने सम्झौता सामाजिक उद्यमी महिला सहकारी संस्था, वीरेन्द्रनगर–१ की व्यवस्थापक भुमीसरा श्रेष्ठको गुनासो छ ।
‘यही अवधिमा पुरुषले सञ्चालन गरेको सहकारी भएको भए धेरै प्रगति भइसकेको हुने थियो,’ उनले भनिन्, ‘तर हाम्रा कुराको संघ तथा प्रदेश सरकारले राम्रोसँग सुनुवाई गर्दैन, स्थानीय सरकारले पनि हाम्रा दिदीबहिनीका लागि विशेष अनुदानको व्यवस्था गर्नुपर्ने हो ।’
कर्णालीमा हाल ३ शय ११ वटा दर्ता भएका सहकारी छन् जसको कुल पुँजी करिब १५ अर्ब रुपैयाँ पुगिसकेको छ । यि सहकारीले १५ शय भन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ ।
कर्णाली प्रदेशभरि करिब ६० वटा महिला सहकारी रहेको कार्यालयका सूचना अधिकारी भीम कार्कीले जानकारी दिए । उनका अनुसार यो अनुमानित तथ्यांक हो । ‘यीमध्ये कति सक्रिय छन्, कति निष्क्रिय छन्,’ उनले भने, ‘महिलाहरुले सञ्चालन गरेको तथ्यांक हामीसँग अनुमानित छ तर महिलाको नेतृत्व त अन्य सहकारीमा पनि छन् ठ्याक्कै कति महिलाहरु सहकारीको नेतृत्वमा छन् भन्ने तथ्यांक छैन ।’
सहकारीले कर्णालीका महिलामा वित्तीय पहुँच मात्र नभई नेतृत्व, समूह व्यवस्थापन र निर्णय क्षमताको पनि विकास गरेको जिल्ला सहकारी संघका प्रवन्धक ढाकाराम न्यौपाने बताउँछन् । सहकारी मार्फत स–साना ऋण लिएर विभिन्न व्यवसाय गरी महिलाहरू आर्थिक रुपले सबल बनेको उनको भनाइ छ । संघले महिलाद्वारा सञ्चालित सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रबन्धक ढाकारामको भनाइ छ।
सरकारले प्रदेशमा सञ्चालित सहकारीलाई अनुदान दिने गरेको छ । प्रदेश तथा स्थानीय सरकारले महिला तथा अन्य सहकारीलाई कृषिमा आधारित ब्याज अनुदान दिने गरेका छन् । कृषि सहकारीहरुलाई १५ देखि २५ लाखसम्म ब्याज अनुदान दिने गरेको सहकारी सञ्चालक दुर्गा थापाले बताइन् । महिला सहकारीलाई मात्र नभई अन्य कृषि सहकारीलाई पनि अनुदान दिने व्यवस्था गरेको उनको भनाइ छ । उनका अनुसार प्रदेशले सहकारीलाई पठाएको अनुदान आवश्यकताका आधारमा सहकारीले किसानलाई दिने गरको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख खिमानन्द अर्यालले कर्णालीमा महिलाहरुले सञ्चालन गरेका सहकारीहरुका प्रमुख तथा सदस्यहरुलाई तालिम दिनबाहेक अन्य काम खासै नगरेको बताए । सहकारी विभागका अनुसार नेपालमा सहकारी संस्थाको संख्या ३२ हजार नौ ६५ पुगेको छ । देशभरका सहकारीमा ५४.५६ प्रतिशत सदस्य महिला र ४२.४७ प्रतिशत पुरुष आवद्ध छन् । सहकारी संघ संस्थाले ९० हजार दुई सय ६५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।







