२०८२ चैत ३० , सोमबार

कर्णाली कोरिडोरका पुल निर्माण प्रभावित



हुम्ला । कर्णाली कोरिडोर अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा निर्माण गरिनुपर्ने नौ वटा पक्की पुलको काम अझै गति लिन सकेको छैन । २०७९ असारमा ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत ठेक्का लागेका यी पुलहरू अन्तिम डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निर्माण कार्य रोकिएको हो ।

हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार निर्माण कम्पनीले डिजाइन स्वीकृत गराउनै झण्डै चार वर्ष खर्च गरेको छ । सडक विभागले पटक–पटक सुधारका लागि डिजाइन फिर्ता पठाउँदा प्रक्रिया लम्बिएको उनले बताए । २०७९ असार ३० मा सम्झौता भई २०८२ असोज ३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको तीन वटा पुलको डिजाइन हाल मात्रै स्वीकृत भएको छ ।

करिब १८ करोड २८ लाख रुपैयाँ लागतका यी पुलको निर्माण अब सुरु हुने तयारीमा रहेको जनाइएको छ । यस्तै बाजुरा र हुम्ला खण्डका थप छ वटा पुल निर्माणको जिम्मा लुम्बिनी सिंह जेभीले ४५ करोड ३१ लाख ५७ हजार रुपैयाँमा लिएको छ ।

उक्त कम्पनीले जिम्मा लिएका जुड्डी, बुड्डीघाट, गल्फागाड र सर्केगाड (न्यासी) खोलाका पुलको डिजाइन स्वीकृत भइसकेको छ भने कबाडी र अर्को गल्फागाड खोलाको डिजाइन अझै स्वीकृत हुन बाँकी छ ।

स्वीकृत भएका पुलमध्ये जुड्डी खोलामा मात्र निर्माण कार्य सुरु भएको प्रमुख नेपालीले जानकारी दिए । उक्त ठेक्का २०७९ असार २८ मा सम्झौता भएको थियो र २०८२ पुस २९ सम्म सबै पुल सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाले नै ढिलाइ बढाउने गरेको टिप्पणी गरे । सम्झौताको अधिकांश समय डिजाइनमै बित्दा पुल निर्माण समयमै सम्पन्न हुनेमा अनिश्चितता बढेको उनको भनाइ छ ।

निर्माण कम्पनीको सुस्तता र नीतिगत जटिलताका कारण कर्णाली कोरिडोरमा यात्रा अझै जोखिमपूर्ण र कष्टकर बनेको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २०८२ चैत ३० गते सोमबार