कर्णाली प्रदेशका विद्यालयहरूमा मानसिक स्वास्थ्यबारे सुरु भएको संवाद केवल एउटा कार्यक्रम मात्रै होइन । यो समाज रूपान्तरणतर्फको महत्वपूर्ण संकेत पनि हो । यसबारे वीरेन्द्रनगर–१२ स्थित जनजागृति प्राथमिक विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकबीच भएको अन्तरक्रियाले एउटा स्पष्ट सन्देश पनि दिएको छ । मानसिक स्वास्थ्य अब बेवास्ता गर्न मिल्ने विषय नरहेको विज्ञहरु पनि बताउँछन् । हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई ‘पागलपन’ वा गम्भीर रोगसँग मात्र जोडेर हेर्ने प्रवृत्ति विद्यमान छ । यस्तो सोचले समस्या झन् जटिल बनाउने मात्र होइन, पीडितलाई झन् एक्ल्याउने काम गर्छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पहिलोपटक आफ्ना भावना, तनाव र व्यवहारबारे खुलेर छलफल गर्न पाउनु आफैंमा सकारात्मक परिवर्तनको संकेत हो । मनका कुरा दबाएर होइन, बाँडेर समाधान खोज्न सकिन्छ भन्ने उनीहरूले सिकेको एउटा महत्वपूर्ण कुरा छ ।

विद्यालयलाई केवल पाठ्यपुस्तकको ज्ञान दिने थलोका रूपमा मात्र हेर्ने पुरानो दृष्टिकोण अब परिवर्तन हुन जरुरी छ । बालबालिकाको समग्र विकासका लागि उनीहरूको मानसिक अवस्था बुझ्नु र त्यसअनुसार सहयोग गर्नु अनिवार्य भइसकेको छ । शिक्षकहरू केवल अध्यापक होइनन्, उनीहरू विद्यार्थीका मार्गदर्शक र भावनात्मक सहारा पनि हुन् । त्यस्तै अभिभावकले पनि अनुशासनको नाममा कठोरता देखाउनेभन्दा सन्तानको मनोविज्ञान बुझ्ने प्रयास गर्नुपर्छ ।
कार्यक्रममा व्यक्त अभिभावकहरूको अनुभवले सन्तानको व्यवहारलाई केवल ‘गल्ती’का रूपमा व्याख्या गर्ने सोच विस्तारै बदलिँदै गएको देखाउँछ । यो परिवर्तनलाई अझ सुदृढ बनाउँदै लैजानु आजको आवश्यकता पनि हो । किनकि घर र विद्यालय दुवै स्थानमा बालबालिकाले पाउने वातावरणले नै उनीहरूको मानसिक स्वास्थ्य निर्धारण गर्छ । मानसिक स्वास्थ्यलाई अझै पनि समाजमा गलत बुझाइका कारण ओझेलमा पारिएको छ । मानसिक समस्या कुनै कमजोरी नभई उपचार र सहयोगबाट सुधार गर्न सकिने अवस्था हो । धेरैजसो मानिसले समस्या हुँदा लुकाउने गर्छन्, तर समयमै खुलेर कुरा गरे समाधान सजिलो हुन्छ । विद्यालय तहबाटै सचेतना बढाउन सके भविष्यमा ठूलो परिवर्तन देख्न सकिन्छ । बालबालिकाको मनोविज्ञान बुझ्न सबै पक्षबीच खुला संवाद र विश्वास आवश्यक छ । विद्यार्थीले आफ्नो कुरा निर्धक्क रूपमा शिक्षक र अभिभावकसँग भन्न सक्ने वातावरण बनाउनुपर्छ । भने अभिभावक र शिक्षक पनि सुन्ने, बुझ्ने र सहयोग गर्ने भूमिकामा रहनुपर्छ । विद्यालय नै बालबालिकाको दोस्रो घर हो । मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यकै महत्वपूर्ण पाटोका रूपमा लिनुपर्ने आवाश्यकता देखिएको छ ।
कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न थालेको हो । मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्न ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०७९’ अनुसार सामाजिक विकास मन्त्रालयले काम गर्दै आएको छ । सरकारले ‘स्वस्थ मन, स्वस्थ जीवन’ जस्ता अभियानमार्फत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु स्वागतयोग्य कदम हो । तर यस्ता कार्यक्रम एकपटकका औपचारिक गतिविधिमा सीमित भए भने यसको प्रभाव दीर्घकालीन हुन सक्दैन । यसलाई निरन्तरता दिँदै विद्यालयको पाठ्यक्रम, शिक्षक तालिम र समुदायस्तरका गतिविधिसँग जोड्नु आवश्यक छ । विशेषगरी कर्णालीजस्तो भौगोलिक र सामाजिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्नु झन् महत्वपूर्ण छ । सीमित स्रोतसाधनबीच पनि सरकारले बजेट विनियोजन गर्दै कार्यक्रम अघि बढाउनु सकारात्मक संकेत हो, तर यसको प्रभावकारी कार्यान्वयनमा उत्तिकै ध्यान दिनुपर्छ । किनकी मानसिक स्वास्थ्य कुनै एक पक्षको जिम्मेवारी मात्रै होइन । विद्यार्थी, शिक्षक, अभिभावक र सरकार—सबैको साझा प्रयासबाट मात्र स्वस्थ समाज निर्माण सम्भव छ । जनजागृति विद्यालयमा सुरु भएको ‘मनका कुरा’ गर्ने अभ्यासलाई देशभर विस्तार गर्न सकियो भने मात्र ‘स्वस्थ मन, स्वस्थ जीवन’ भन्ने नाराले वास्तविक अर्थ पाउनेछ ।







