२०८२ चैत ३० , सोमबार
फ्रन्ट पेज

विद्यार्थी, शिक्षक र अभिभावकसँग मनका कुरा



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका– १२ पदमपुरमा रहेको जनजागृति प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत आशिका विकले पहिलोपटक मानसिक स्वास्थ्यबारे सुनिन् । करिब तीन घण्टाको अन्तरक्रियामा उनी सहभागी भएर हरेक व्यक्ति मानसिक रुपमा स्वस्थ हुनुपर्ने कुरा मात्रै जानिनन् आफू पनि कुनै न कुनै ढंगले मानसिक रुपमा अस्वस्थ छु भन्ने पहिचान गर्न सक्नेसम्म भइन् ।

‘सानो–सानो कुरामा रिसाएर छोराछोरीलाई हात छोड्ने अभिभावकले पनि आज ज्ञान पाउनुभयो,’ उनले भनिन्, ‘हामीले पनि धेरै मोबाइल हेर्दा मानसिक स्वास्थ्यमा पनि असर गर्ने कुरा बुझ्यौँ ।’ विकले स्कुलमा शिक्षक–शिक्षिकासँग र घरमा बुवा आमासँग मनमा लागेको कुरा निर्धक्क भनेर समाधान खोज्ने सकिने कुरा बुझेको पनि बताइन् ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले आयोजना गरेको विद्यार्थी, शिक्षक र अभिभावकसँग मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा विद्यार्थीहरुले आफ्नो दैनिक जीबनमा भोगिरहेको समस्या समाधानबारे जान्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सहभागी अर्का विद्यार्थी कर्णबहादुर बुढामगरले पनि पहिलोपटक मानसिक स्वास्थ्यबारे यसरी खुला रूपमा छलफल गर्ने अवसर पाएको बताए ।

उनले मानसिक स्वास्थ्य भनेको ‘पागलपन’ वा ठूलो रोग मात्र नभई दैनिक व्यवहार, सोच र भावनासँग जोडिएको महत्वपुर्ण विषय रहेछ भन्ने बुझेको बताए । ‘पहिला त हामीले यस्तो कुरा कहिल्यै सुनेका थिएनौँ,’ उनले भने, ‘रिस उठ्दा कसरी नियन्त्रण गर्ने, धेरै चिन्ता हुँदा कसरी मन हल्का बनाउने भन्ने कुरा आज सिक्न पाइयो ।’ उनले पढाइको दबाब, घरको वातावरण र साथीसँगको सम्बन्धले पनि मनस्थितिमा असर पार्ने कुरा आफूले अनुभव गरिरहेको उल्लेख गरे ।

बुढामगरले कार्यक्रममा शिक्षक र अभिभावकसँग खुलेर कुरा गर्न सकिने वातावरण बनाइएकोमा खुसी व्यक्त गर्दै अब आफूले मनमा लागेको कुरा लुकाएर नराख्ने बताए । ‘अब केही समस्या भएमा सर–म्यामलाई भन्न सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भने, ‘घरमा पनि बुवा–आमासँग कुरा गरेर समाधान खोज्ने प्रयास गर्छु ।’

कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मनोचिकित्सक डा. सुशील समदर्शीले मानसिक स्वास्थ्यलाई अझै पनि समाजमा गलत बुझाइका कारण ओझेलमा पारिएको बताए । उनले मानसिक समस्या कुनै कमजोरी नभई उपचार र सहयोगबाट सुधार गर्न सकिने अवस्था भएको स्पष्ट पारे । ‘धेरैजसो मानिसले समस्या हुँदा लुकाउने गर्छन्, तर समयमै खुलेर कुरा गरे समाधान सजिलो हुन्छ,’ उनले भने, ‘विद्यालय तहबाटै सचेतना बढाउन सके भविष्यमा ठूलो परिवर्तन देख्न सकिन्छ ।’

उनले बालबालिकाको मनोविज्ञान बुझ्न सबै पक्षबीच खुला संवाद र विश्वास आवश्यक हुने बताए । ‘विद्यार्थीले आफ्नो कुरा निर्धक्क रूपमा शिक्षक र अभिभावकसँग भन्न सक्ने वातावरण बन्नुपर्छ,’ उनले भने, ‘अभिभावक र शिक्षकले पनि सुन्ने, बुझ्ने र सहयोग गर्ने भूमिकामा रहनुपर्छ ।’ उनले विद्यालय नै बालबालिकाको दोस्रो घर भएको भन्दै शिक्षक–शिक्षिकाले उनीहरुको मनोदशा बुझ्न आवश्यक रहेको बताए ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यकै महत्वपूर्ण पाटोका रूपमा लिनुपर्नेमा जोड दिए । उनले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा विस्तार गर्दै लगिएको जानकारी दिँदै यस्ता अन्तरक्रियाले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने बताए । ‘घर र विद्यालय दुवै स्थानमा बालबालिकालाई दबाबभन्दा सहयोग र सहानुभूति चाहिन्छ,’ उनले भने, ‘तीनै पक्षबीच समन्वय भए मात्रै बालबालिकाको मानसिक स्वास्थ्य सुदृढ हुन्छ ।’

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तथा स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले मानसिक स्वास्थ्यलाई विद्यालयस्तरदेखि नै प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । उनले बालबालिकाको समग्र विकासका लागि मानसिक स्वास्थ्य सुदृढ हुनु अत्यन्त जरुरी रहेको उल्लेख गरे । साथै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदीले धेरैजसो ठूला विद्यार्थीमाझ मात्रै हुने यस्ता कार्यक्रम आफ्नो विद्यालयमा पनि आवश्यक भएको महसुस गरेर आयोजना गरिएको बताइन् ।उनले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीच समझदारी बढाएको बताए । उनले बालबालिकाको व्यवहार र सिकाइमा मानसिक अवस्थाको प्रभाव पर्ने भएकाले यस विषयमा निरन्तर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘हामीले पढाइसँगै विद्यार्थीको मनोवैज्ञानिक पक्षलाई पनि ध्यान दिन जरुरी छ,’ उनले भनिन् । कार्यक्रममा सहभागी अभिभावक रिमा खड्काले सन्तानको व्यवहारलाई केवल अनुशासनको विषयका रूपमा हेर्ने आफ्नो सोचमा परिवर्तन आएको बताइन् । ‘पहिला छोराछोरीले गल्ती गर्दा कराउँथ्यौँ, कहिलेकाहीँ हात पनि उठ्थ्यो,’ उनले भनिन्, ‘आजको कार्यक्रममा उनीहरूको मन पनि बुझ्नुपर्छ भन्ने कुरा सिक्यौँ ।’

त्यस्तै अभिभावक बिमला विकले पनि बालबालिकासँग संवाद गर्ने तरिका सिक्न पाएको बताइन् । उनले अब सन्तानसँग खुला रूपमा कुरा गर्ने र उनीहरूको समस्या बुझ्ने प्रयास गर्ने प्रतिबद्धता जनाइन् । ‘हामीले नै नबुझेपछि बच्चाले कसलाई भन्ने ? अबदेखि उनीहरूको कुरा ध्यान दिएर सुन्नेछु,’ उनले भनिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले विद्यालयमा यस्ता प्रकारका सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले बालबालिकाको समग्र विकासका लागि शैक्षिक उपलब्धिसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

‘विद्यालयले पढाइ मात्र होइन, विद्यार्थीको व्यवहार र मानसिक अवस्थालाई पनि समान रूपमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसका लागि अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच सहकार्य अनिवार्य छ ।’

त्यस्तै वीरेन्द्रनगर नगरपालिका–१२ का वडासदस्य गंगाराम लामिछानेले समुदायस्तरमै मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले स्थानीय तहले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै विद्यालय र समुदायबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘मानसिक स्वास्थ्यलाई अझै पनि खुलेर छलफल नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘आज यो कार्यक्रम आयोजना गरेर थोरै भएपनि सिक्ने अवसर दिनुभएकोमा धेरै धन्यवाद ।’

स्वस्थ मन स्वस्थ जीबन

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशमा कार्यरत मनोविद लक्ष्मी तामाङले कार्यक्रमलाई औपचारिक शैलीभन्दा फरक ढंगले सञ्चालन गर्दै विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकालाई सुरुमै नाच्न लगाएर वातावरणलाई उत्साहित बनाइन् ।

सहभागीबीचको दिकदारीपन र औपचारिकता हटाउँदै उनले ‘मनका कुरा गरौँ’ भन्ने सन्देशसहित कार्यक्रमको सुरुवात गर्दा सबै खुलेर सहभागी भएको देखिन्थ्यो । विद्यार्थीहरू आफूलाई चित्त बुझेका कुरा कापीमा टिप्दै ध्यानपूर्वक सुन्दै थिए ।

तामाङले सुरुमै नेपाल सरकारले ‘स्वस्थ मन, स्वस्थ जीवन’ भन्ने नारासहित ‘मानसिक स्वास्थ्य सचेतना अभियान, २०८२’ सञ्चालनमा ल्याएको जानकारी दिँदै यसको उद्देश्यबारे स्पष्ट पारिन् ।

उनले आफ्नो प्रस्तुतिमार्फत बालबालिकामा सानो–सानो घटनाले पनि गहिरो मानसिक आघात पु¥याउन सक्ने र त्यसले दीर्घकालीन समस्या निम्त्याउन सक्ने भएकाले यसतर्फ अभिभावक र शिक्षकको विशेष ध्यान जानुपर्ने बताइन् ।

उनले सहभागीहरूलाई विभिन्न अभ्यास गराउँदै आफ्नो अनुभव साटासाट गर्न प्रेरित गरिन् । कहिले रमाइला खेलमार्फत त कहिले भावनात्मक अभ्यासमार्फत उनले रिस, डर, चिन्ता जस्ता भावनालाई कसरी चिन्न र व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे सहज तर प्रभावकारी ढंगले बुझाइन् । ‘बालबालिकाले भोगेका साना कुरालाई पनि गम्भीरतापूर्वक सुन्नुपर्छ,’ उनले भनिन्, ‘उनीहरूले व्यक्त गर्न खोजेका भावनालाई बेवास्ता गर्नु हुँदैन ।’

तामाङले अभिभावकलाई बालबालिकासँग दैनिक रूपमा समय बिताउन, उनीहरूको कुरा ध्यान दिएर सुन्न र सकारात्मक व्यवहार देखाउन सुझाव दिइन् । कार्यक्रमभरि सहभागीहरूलाई सक्रिय बनाउँदै उनले मानसिक स्वास्थ्यबारेको जटिल विषयलाई सरल, व्यवहारिक र रमाइलो ढंगले प्रस्तुत गरिन् ।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि विद्यालयमा पनि मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया सुरु गरेको हो । मन्त्रालयका मानसिक स्वास्थ्य फोकल पर्सन खगेन्द्रप्रकाश गैरेले यसअघि शिक्षक–शिक्षिकाहरु र कन्भर्जन डिसअर्डर भएका विद्यार्थीहरुमाझ पुगेर यस्ता कार्यक्रम गरिएपनि विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिका एकै ठाउँमा राखेर कार्यक्रम गरिएको यो पहिलोपटक भएको जानकारी दिए ।

उनका अनुसार प्रदेशमा बढ्दो मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्न थालेको हो । मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्न ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०७९’ अनुसार सामाजिक विकास मन्त्रालयको नेतृत्वमा मनोचिकित्सक, मनोविदसहितको टोली नै अभियानमा सहभागी भएर काम गरिरहेको उनले बताए ।

आगामी वर्षदेखि सबै विद्यालयमा यस्ता खाले कार्यक्रम गरिने गैरेले जानकारी दिए । प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई संस्थागत रूपमा अगाडि बढाउन प्रत्येक वर्ष करिब ६० लाखदेखि एक करोड रुपैया“सम्म बजेट विनियोजन गर्दै आएको छ ।

 

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार