२०८३ वैशाख ३० , बुधबार

बाँझो जमिनमा ओखर खेती



कालिकोट ।  लामो समयदेखि प्रयोग विहीन र बाँझो अवस्थामा रहेको जमिन अहिले हरियालीले भरिन थालेपछि कालिकोटको पचालझरना गाउँपालिकाका कृषकहरूमा नयाँ आशा पलाएको छ । पचालझरना गाउँपालिका चारमा रहेको संघर्षशील महिला सहकारी कृषि संस्थाले सामूहिक पहलमार्फत १००० बुट्टा ओखर खेती सुरु गरेपछि स्थानीय स्तरमै कृषि क्रान्तिको संकेत देखिन थालेको हो । वर्षौंदेखि निगालदाउरा र पुरानो धारा आसपासको क्षेत्र झाडीले ढाकिएको तथा उपयोगविहीन अवस्थामा थियो । स्थानीयवासीले खेतीयोग्य सम्भावना कम भएको ठानेर बेवास्ता गर्दै आएको उक्त जमिन अहिले व्यवस्थित ओखर बगैँचामा रूपान्तरण भएको छ ।

महिलाहरूको सक्रिय सहभागिता र सहकारीको सामूहिक प्रयासले बाँझो जमिनलाई उत्पादनशील बनाएको भन्दै स्थानीय तहले समेत यसको प्रशंसा गरेको छ । ओखर खेतीको प्रगतिबारे जानकारी लिन गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम स्थलगत अनुगमनमा पुगेकी थिइन् । अनुगमनका क्रममा उनले ओखर खेतीले स्थानीय कृषकहरूलाई दीर्घकालीन आम्दानीको स्रोत दिन सक्ने विश्वास व्यक्त गरिन् । उनले कृषि क्षेत्रलाई व्यवसायिकरणतर्फ लैजान यस्ता पहलहरू अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, “वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोग गर्दै महिलाहरूले सामूहिक रूपमा सुरु गरेको यो खेती उदाहरणीय छ । यदि यसलाई व्यवस्थित रूपमा विस्तार गर्न सकियो भने यसले वडा मात्र होइन, समग्र गाउँपालिकाको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउनेछ ।” स्थानीय महिलाहरूले सुरु गरेको यो अभियानले गाउँमा कृषि प्रतिको आकर्षण पनि बढाएको छ । सुरुमा धेरैले ओखर खेती सफल हुन्छ भन्नेमा शंका व्यक्त गरेका थिए । तर अहिले बिरुवाहरू राम्रोसँग हुर्किन थालेपछि स्थानीयवासीहरू उत्साहित बनेका छन् ।

वडा सदस्य होइजाली सेजुवालका अनुसार सुरुवाती चरणमा पर्याप्त विश्वास नभए पनि अहिले देखिएको प्रगतिले सबैलाई आशावादी बनाएको छ । “पहिले यस्तो जमिनमा ओखर खेती सम्भव हुन्छ भन्ने धेरैलाई लागेको थिएन । तर अहिले बिरुवाहरू राम्रोसँग बढिरहेको देख्दा स्थानीयहरूमा उत्साह थपिएको छ,” उनले बताइन् । ओखर खेती दीर्घकालीन तथा आम्दानीमुखी खेतीका रूपमा चिनिन्छ । पहाडी जिल्लाको हावापानी ओखर उत्पादनका लागि उपयुक्त मानिने भएकाले यसले भविष्यमा स्थानीय कृषकलाई आर्थिक रूपमा बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ ।

कृषि विज्ञहरूका अनुसार उचित संरक्षण, सिँचाइ र व्यवस्थापन गर्न सके केही वर्षमै राम्रो उत्पादन लिन सकिन्छ । अनुगमन टोलीमा जिल्ला कृषि कार्यालय प्रमुख चन्द्रबहादुर शाही, बाली संरक्षण अधिकृत दिवाकर पन्त तथा इन्जिनियर बिरेन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो । टोलीले खेतीको अवस्था, बिरुवाको वृद्धि तथा आवश्यक प्राविधिक सहयोगबारे कृषकहरूसँग छलफल समेत गरेको थियो । स्थानीय सरकार, कृषि प्राविधिक र महिला सहकारीबीचको सहकार्यले पचालझरनामा सुरु भएको यो अभियान अहिले उदाहरणीय बन्न थालेको छ। बाँझो जमिनलाई उत्पादनशील बनाउँदै ग्रामीण क्षेत्रमा रोजगारी र आयआर्जनको नयाँ सम्भावना सिर्जना गर्ने दिशामा यो पहल महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार