- यो आयोजना अब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले नयाँ कार्ययोजना बनाउन थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि आयोजनाको काम तीव्र पार्न दुई वा तीन सिफ्टमा निर्माण सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले नयाँ कार्ययोजना बनाउन थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको कार्यकारी निर्देशनपछि आयोजनालाई तीव्र गतिमा अघि बढाउने तयारी सुरु गरिएको हो । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मिन्त्र वरालका अनुसार आयोजनालाई निर्धारित नयाँ समयसीमाभित्र सम्पन्न गर्ने गरी कार्ययोजना तयार पार्ने काम भइरहेको छ ।

यसअघि आयोजना आर्थिक वर्ष २०८७/८८ सम्म सम्पन्न गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको थियो । तर वर्तमान सरकारले आयोजनालाई प्राथमिकतामा राख्दै अब दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य अघि सारेको हो । त्यसअनुसार निर्माण कार्यलाई तीव्र बनाउन अतिरिक्त जनशक्ति परिचालन, दुई वा तीन सिफ्टमा काम सञ्चालन तथा आवश्यक स्रोत व्यवस्थापनका विषयमा प्रारम्भिक छलफल भइरहेको विभागले जनाएको छ ।
महानिर्देशक वरालका अनुसार अहिले आयोजना एक सिफ्टमा सञ्चालन भइरहेको छ । तोकिएको समयभित्र काम सक्न निर्माण कार्यलाई चौबीसै घण्टा सञ्चालन गर्ने गरी कार्यविधि बनाइनेछ । “स्रोत व्यवस्थापन, जनशक्ति परिचालन र समस्या समाधानका विषयमा आवश्यक तयारी भइरहेको छ,” उनले भने । आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको यो आयोजना सुरुमा २०७९/८० मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विभिन्न प्राविधिक, प्रशासनिक तथा आर्थिक कारणले आयोजनाको अवधि पटक–पटक थपिँदै गएको छ । आयोजनाको प्रारम्भिक लागत १६ अर्ब ४३ करोड रुपैयाँ रहेकामा अहिले लागत बढेर ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
अहिलेसम्म आयोजनामा १८ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ खर्च भइसकेको छ, जुन कुल लागतको ५६.५६ प्रतिशत हो । चालु आर्थिक वर्ष २०८२÷८३ का लागि आयोजनामा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसमध्ये हालसम्म ६८ करोड १३ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ६५.५० प्रतिशत पुगेको छ । भेरी–बबई आयोजना सुर्खेत, बाँके र बर्दिया जिल्लामा फैलिएको बहुउद्देश्यीय आयोजना हो । आयोजनाबाट ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने तथा ४८.८ मेगावाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनालाई कर्णाली क्षेत्रको कृषि तथा ऊर्जा विकासको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ ।
आयोजनाअन्तर्गत सबैभन्दा महत्त्वपूर्ण मानिएको १२.२० किलोमिटर लामो सुरुङ निर्माण कार्य भने सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेसिन (टिबिएम) को प्रयोग गरेर निर्माण गरिएको उक्त सुरुङ नेपालमै आधुनिक प्रविधिबाट निर्माण गरिएको प्रमुख पूर्वाधारमध्ये एक मानिन्छ । त्यस्तै, बाँध तथा पावरहाउस निर्माणअन्तर्गतका विभिन्न संरचनाको काम पनि जारी रहेको छ । कुल ६ वटा मुख्य संरचना निर्माण गर्नुपर्नेमा ती विभिन्न चरणमा रहेका छन् । हाइड्रोमेकानिकल संरचनासम्बन्धी डिजाइन स्वीकृत भइसकेको छ भने अधिकांश उपकरण फेब्रिकेशनको चरणमा पुगेका छन् । केही उपकरण आयोजना स्थलमै आइपुगेका छन् । ड्राफ्ट ट्युब, ट्रान्सफर्मर, स्वीच
गियरलगायतका उपकरण फिल्डमा पुगेको आयोजनाले जनाएको छ । इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडान कार्य पनि अघि बढिरहेको छ । विद्युत प्रसारण लाइनका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकनका लागि वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पठाइएको छ । बबई–मान खोला डाइभर्सनसम्बन्धी विस्तृत अध्ययन कार्य पनि सम्पन्न भएको छ । सामाजिक विकास तथा वातावरणीय सुधार कार्यक्रमअन्तर्गत आयोजनाबाट प्रभावित क्षेत्रमा सिँचाइ, खानेपानी, तटबन्ध, स्वास्थ्य, शिक्षा तथा सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । आयोजनाका लागि आवश्यक २२.८९ हेक्टर जग्गामध्ये १५.७९ हेक्टर अधिग्रहण भइसकेको छ भने बाँकी प्रक्रिया अगाडि बढाइएको छ ।
यद्यपि आयोजनाका धेरै महत्वपूर्ण काम अझै बाँकी छन् । हेडवक्र्स तथा पावरहाउसको सिभिल निर्माण, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान र परीक्षण कार्य सम्पन्न गर्नुपर्नेछ । साथै, विद्युत प्रसारण लाइन निर्माण, वातावरणीय अध्ययन तथा सुपरभिजनका लागि नयाँ परामर्श सेवा खरिद गर्नुपर्ने अवस्था रहेको छ । यसैगरी, तटबन्धन, सिँचित क्षेत्र संरक्षण तथा वातावरणीय सुधारका थप कामहरू गर्न बाँकी छन् । आयोजना सम्पन्न भएपछि विद्युत गृह सञ्चालन तथा व्यवस्थापनको संरचना तयार गर्नुपर्नेछ भने अन्तिम चरणमा परीक्षण तथा कमिसनिङ कार्य पनि गरिनेछ ।
सरकारले अब आयोजनालाई तीव्र गतिमा अघि बढाएर निर्धारित नयाँ लक्ष्यभित्र सम्पन्न गर्ने दाबी गरे पनि विगतमा पटक–पटक समय र लागत बढेको अनुभवका कारण चुनौती भने कायमै छन् । तथापि, निर्माण कार्यले अपेक्षित गति लिन सके भेरी–बबई आयोजना कर्णाली र मधेश क्षेत्रको कृषि तथा ऊर्जा विकासमा महत्वपूर्ण उपलब्धि बन्ने विश्वास गरिएको छ ।








