हुम्ला । राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यताका कारण ठूलो आर्थिक भार बेहोर्नुपरेको छ । अदानचुली, ताजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका स्थानीयले परिचयपत्र लिन मात्रै करिब २० हजार रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताएका छन् । सरकारले गत वर्ष गाउँमै पुगेर निःशुल्क रूपमा विवरण सङ्कलन गरेपछि नागरिक उत्साहित भएका थिए । तर परिचयपत्र लिन अनिवार्य रूपमा सिमकोट जानुपर्ने भएपछि दुर्गम बस्तीका नागरिक थप समस्यामा परेका छन् । यातायात, खाना, बसोबास तथा अन्य खर्च जोड्दा एक जनालाई आउजाउमै ठूलो रकम खर्चिनुपर्ने स्थानीयको भनाइ छ । विशेष गरी ज्येष्ठ नागरिक, अशक्त तथा न्यून आय भएका परिवार यसबाट बढी प्रभावित भएका छन् ।
सर्केगाड गाउँपालिका सात रोडीकोटका ज्येष्ठ नागरिक रतन्या जैसीले गाउँमै सेवा उपलब्ध हुने आशा गरे पनि अहिले परिचयपत्र लिन लामो यात्रा गर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार सामाजिक सुरक्षा भत्ता तथा बैङ्किङ कारोबारका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि समस्या झन् बढेको छ । अदानचुली दुईका लालकेश भण्डारीले एउटा परिचयपत्रकै लागि यति धेरै दुःख र खर्च गर्नुपर्नु दुःखद भएको बताउँदै गाउँपालिकामै कार्ड वितरणको व्यवस्था गर्न सरकारसँग माग गरे । ताँजाकोट गाउँपालिकाकी मनसरा रोकायाले पनि कमजोर आर्थिक अवस्थाका कारण परिचयपत्र लिन सदरमुकाम पुग्न कठिन भएको गुनासो गरे । उनले बैङ्क खाता सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि थप चिन्ता बढेको बताए ।
स्थानीयवासीले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने निर्णयसँगै यसको वितरण प्रणालीलाई पनि सहज र पहुँचयोग्य बनाउन सरकारसँग माग गरेका छन् । विकट जिल्ला हुम्लामा सेवा विस्तारको चर्चा भए पनि व्यवहारमा नागरिकले अझै महँगो यात्रा र आर्थिक बोझ व्यहोर्नुपरेको गुनासो बढ्दै गएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी ले हाल नेपाल सरकारको नीति अनुसार नै परिचयपत्र वितरण भइरहेको बताए । साथै, आगामी दिनमा आफन्तमार्फत पनि परिचयपत्र बुझ्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए ।









