२०८३ जेठ ६ , बुधबार

डोल्पामा गुनासो व्यवस्थापनबारे सचेतना कार्यक्रम



डोल्पा ।  जिल्लाको  मुडकेचुला गाउँपालिकामा गुनासो व्यवस्थापन प्रणालीबारे महिला तथा सिमान्तकृत समुदायलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाका ९ वटै वडामा आयोजित कार्यक्रममा गुनासो के हो, कसरी र कहाँ दर्ता गर्ने भन्ने विषयमा जानकारी दिइएको हो । गाउँपालिकाकी कार्यपालिका सदस्य मायादेवी बोहराले गुनासो राख्न नसक्नु नै विकासमा पछि पर्नुको एक कारण भएको बताए ।

उनले  व्यवहारिक उदाहरण दिँदै भने  “बच्चा भोक लागेको गुनासो रोएर व्यक्त गर्छ, त्यस्तै हामीले पनि विकासका लागि सम्बन्धित निकायमा आफ्ना समस्या राख्न सिक्नुपर्छ ।” कार्यक्रममा ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश सरकारको गुनासो व्यवस्थापन इकाइमार्फत १०९६ नम्बरको निःशुल्क फोन सेवा, वाट्सएप, भाइबर र अनलाइन माध्यमबाट गुनासो दर्ता गर्न सकिने जानकारी दिइएको थियो । गुनासो व्यवस्थापन प्रणालीलाई जवाफदेहिता र सेवा प्रवाह सुधार गर्ने प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरिएको थियो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को सहयोग तथा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको साझेदारीमा सञ्चालित “कानूनी पहुँच, जवाफदेहिता र जनमुखी न्यायका लागि महिला र सिमान्तकृत समुदायको सशक्तिकरण” परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । परियोजना संयोजक भीमबहादुर नेपालीका अनुसार मुडकेचुला गाउँपालिकाका सबै वडामा पुगेर नागरिकलाई आफ्ना समस्या सम्बन्धित निकायमा दर्ता गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार