२०८३ जेठ ६ , बुधबार

नौ वर्षपछि वडाकाे सार्वजनिक सुनुवाई



डोल्पा ।  जिल्लाको मुडकेचुला गाउँपालिकाका वडास्तरमा नौ वर्षपछि पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय तहको सेवा प्रवाह, सुशासन र जवाफदेहिता सम्बन्धी कार्यक्रम वडा नं. दुई र पाँच मा आयोजना गरिएको हो । नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को सहयोग तथा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । वडा नं. पाँच का अध्यक्ष इच्छाबहादुर शाहीले लामो समयपछि वडास्तरमै सार्वजनिक सुनुवाइ हुनुलाई महत्वपूर्ण उपलब्धि भन्दै जनताप्रति जवाफदेही हुन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले आफ्नो कार्यकालमै गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। त्यसैगरी वडा नं. दुईका अध्यक्ष जगबहादुर सार्कीले पहिलो पटक गरिएको सार्वजनिक सुनुवाइ राम्रो अभ्यास भएको उल्लेख गर्दै आगामी वर्षदेखि नियमित गर्न बजेट विनियोजन गरिने जानकारी दिए ।कालिका स्वास्थ्य चौकीका इन्चार्ज देवबहादुर खत्रीले वडास्तरमा सार्वजनिक सुनुवाइ भएको पहिलो अनुभव भएको भन्दै यसलाई प्रत्येक वर्ष नियमित गर्नुपर्ने सुझाव दिए ।

मुडकेचुला गाउँपालिकामा यसअघि पालिका स्तरमा सार्वजनिक सुनुवाइ हुने गरे पनि वडास्तरमा अभ्यास भएको थिएन । हाल सम्पन्न कार्यक्रममार्फत वडाका गतिविधि, सेवा प्रवाह र प्रगतिबारे नागरिकलाई प्रत्यक्ष जानकारी दिइएको तथा विभिन्न प्रतिबद्धतासमेत गरिएको जनाइएको छ । परियोजना संयोजक भीमबहादुर नेपालीका अनुसार “कानूनी पहुँच, जवाफदेहिता र जनमुखी न्यायका लागि महिला र सिमान्तकृत समुदायको सशक्तिकरण” परियोजना अन्तर्गत मुडकेचुलाका ९ वटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार