२०८३ जेठ ७ , बिहीबार

काफल छरिएपछि चौतर्फी आलोचना, नगरपालिकाद्वारा १० हजार क्षतिपूर्ति



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुव्र्यवहारमा परेकी काफल व्यवसायी धमिला चौलागाईलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराएको छ । नगरप्रमुख मोहनमाया ढकालले बुधबार आफ्नै कार्यकक्षमा बोलाएर चौलागाईलाई १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी हुन् । मंगलबार साँझ वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौलागाईले बिक्रीका लागि राखेको काफलको डालो पल्टाइदिएका थिए । नगर प्रहरीले जबरजस्ती डालो घोप्ट्याउँदा काफल सडकभरि छरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नगरपालिकाको चर्को आलोचना भएको थियो ।

घटनापछि जनस्तरबाट व्यापक विरोध भएपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न नगर प्रहरीमाथि कारबाही गर्ने र पीडित महिलालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नगरप्रमुख ढकालले चौलागाईलाई राहतस्वरूप रकम हस्तान्तरण गरेकी हुन् । नगरप्रमुख ढकालका अनुसार चौलागाईको करिब ७–८ सय रुपैयाँ बराबरको काफल नोक्सान भए पनि उनले भोग्नुपरेको मानसिक पीडा र आर्थिक अवस्थालाई ध्यानमा राख्दै थप सहयोग गरिएको हो । उहाँलाई भएको क्षतिभन्दा पनि उहाँले महसुस गर्नुभएको पीडा ठूलो थियो, त्यसैले राहतस्वरूप थप सहयोग गरिएको हो, नगरप्रमुख ढकालले बताइन् ।

कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी चौलागाईले नगरपालिकाबाट सहयोग पाएपछि खुसी व्यक्त गरेकी छन् । नगरप्रमुख ढकालले उनलाई सुरक्षित स्थानमा बसेर व्यापार गर्न आग्रह गर्दै आगामी दिनमा समस्या परे नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् । यसैबीच बुधबार चौलागाईले बिक्रीका लागि ल्याएको काफल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले खरिद गरिदिएका थिए । घटनापछि नगरपालिकाले नगर प्रहरीको व्यवहारप्रति आत्मसमीक्षा गर्दै आगामी दिनमा मानवअधिकार र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार