२०८३ जेठ ७ , बिहीबार

कडा चट्टान छिचोल्दै पोखरीडाँडामा पुग्यो पहिलो मोटरबाटो



सल्यान ।   विकट पोखरीडाँडा गाउँ पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ । कडा चट्टान काटेर निर्माण गरिएको निगाल्चुला–टोट्के–पोखरीडाँडा सडक उद्घाटन भएसँगै स्थानीयवासीमा खुसी छाएको हो । छत्रेश्वरी गाउँपालिका चार अन्तर्गत करिब १६ लाख रुपैयाँ लागतमा तिन सय ५० मिटर मोटरबाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सडकको करिब दुई सय  मिटर भाग कडा चट्टान छिचोलेर बनाइएको वडा प्राविधिक जनक घर्तीले जानकारी दिए । गाउँपालिकाकै एक्साभेटर प्रयोग गरी इन्धन व्यवस्थापनसहित सडक निर्माण गरिएको हो ।

वर्षौंदेखि पैदल यात्रा गर्न बाध्य पोखरीडाँडावासीको घरआँगनमै पहिलो पटक सवारीसाधन पुगेपछि गाउँमा उत्साहको वातावरण बनेको छ । सडक पुगेपछि दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवतजावत तथा कृषिउपज बजारसम्म पु¥याउन सहज हुने स्थानीयको अपेक्षा छ । वडाध्यक्ष छविलाल खत्रीका अनुसार भौगोलिक रूपमा अत्यन्त कठिन क्षेत्र भए पनि स्थानीयको आवश्यकता र दीर्घकालीन सुविधालाई ध्यानमा राखेर सडक निर्माण सम्पन्न गरिएको हो । १६ घरधुरी रहेको पोखरीडाँडाका अधिकांश नागरिक तरकारी खेतीमा निर्भर छन् । सडक विस्तारसँगै उत्पादन भएको तरकारी सहज रूपमा बजारसम्म पु¥याउन सकिने भएपछि स्थानीयमा थप उत्साह देखिएको छ ।

कार्यपालिका सदस्य तुलसा विकले सडक निर्माणसँगै गाउँको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे  । उनका अनुसार अब बिरामीलाई अस्पताल लैजान, खाद्यान्न ढुवानी गर्न तथा कृषिउपज बिक्री गर्न धेरै सहज हुनेछ । गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले मोटरबाटो उद्घाटन गर्दै दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्नु गाउँपालिकाको प्राथमिकता रहेको बताए । उनले यसअघि पनि विभिन्न विकट बस्तीमा कठिन मेहनतका साथ सडक निर्माण गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार