रुकुमपश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घर ठेगानामै राहदानी पुर्याउने नयाँ व्यवस्था सुरु गरेको छ । अब राहदानी बनाउन आउने सेवाग्राहीले पुनः कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची अन्तर्गत जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै यो सेवा कार्यान्वयनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार सेवाग्राहीको समय र खर्च बचत गर्न तथा सरकारी सेवालाई थप प्रभावकारी बनाउन यो व्यवस्था लागू गरिएको हो । उनले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्य रहेको बताए । सम्झौता अनुसार सेवाग्राहीले राहदानी आवेदन दिँदा उल्लेख गरेको ठेगानामै नेपाल हुलाक सेवामार्फत राहदानी सुरक्षित रूपमा पठाइनेछ । हुलाक कार्यालयले प्राप्तकर्ताको पहिचान पुष्टि गरेर मात्र राहदानी हस्तान्तरण गर्ने तथा वितरणसम्बन्धी अभिलेख राख्ने जिम्मेवारी पाएको छ ।
राहदानी वितरणका क्रममा सरकारी कागजातको सुरक्षा र गोपनीयतालाई विशेष प्राथमिकता दिइने जनाइएको छ । साथै वितरण प्रक्रियामा आउने समस्यालाई प्रशासन र हुलाक कार्यालयबीच समन्वय गरेर तत्काल समाधान गर्ने सहमति भएको छ । हुलाकमार्फत राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले प्रतिगोटा ५५ रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले राहदानीको विवरण हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ भने हुलाक कार्यालयले आवश्यक फाराम तथा सुरक्षित वितरणको व्यवस्था गर्नेछ ।
यसअघि राहदानी लिन सेवाग्राही स्वयं जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । प्रशासन कार्यालयले आवेदन फाराम भर्दा आफ्नो ठेगाना र मोबाइल नम्बर स्पष्ट तथा सही रूपमा उल्लेख गर्न सेवाग्राहीलाई आग्रह गरेको छ









