२०८३ जेठ ७ , बिहीबार

खेलकुद अध्यक्षमा नरजीत शाहीको आकांक्षा



जुम्ला । खेल क्षेत्रमा करिब एक दशकको अनुभव बटुलेका युवा नरजीत शाहीले जिल्ला खेलकुद विकास समिति जुम्लाको अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । देशभर खेलकुद विकास समितिका अध्यक्ष चयन प्रक्रिया अघि बढिरहेका बेला जुम्लामा पनि शाहीले औपचारिक रूपमा आकांक्षा व्यक्त गरेका हुन् । हिमा गाउँपालिका पाँच बुअ गाउँका शाही विगत २०६८ सालदेखि निरन्तर खेल क्षेत्रमा सक्रिय छन् । फुटबलबाट खेल जीवन सुरु गरेका उनले स्थानीय स्तरदेखि लिएर राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव हासिल गरेका छन् ।

पछिल्लो समय उनले कोच र रेफ्रीका रूपमा पनि करिब पाँच वर्ष काम गरेको बताएका छन् । शाहीका अनुसार खेल क्षेत्रमा लामो समयको अनुभव, अनुशासन र व्यवस्थापकीय बुझाइका आधारमा उनले जिल्ला खेलकुद विकास समितिको नेतृत्व लिन चाहेका हुन् । उनले विगतमा देखिएको राजनीतिक भागबण्डा र पहुँचका आधारमा हुने नियुक्ति अब अन्त्य भइसकेको विश्वास व्यक्त गर्दै योग्य र अनुभवी युवालाई अवसर दिनुपर्ने धारणा राखे । उनले अध्यक्ष पदमा पुगेपछि जुम्लाको खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने विस्तृत योजना समेत सार्वजनिक गरेका छन् ।

उनका अनुसार जिल्लामा नियमित खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विद्यालय तथा गाउँस्तरबाट प्रतिभा पहिचान गर्ने, पुराना खेलाडीलाई संरक्षण तथा प्रोत्साहन गर्ने र छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने मुख्य प्राथमिकता रहनेछ ।  शाहीले खेलाडीहरूको क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, प्रशिक्षक तथा रेफ्रीहरूको दक्षता वृद्धि गर्ने र जिल्लालाई प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सक्रिय रूपमा सहभागी गराउने योजना पनि अघि सारेका छन् । “पद पाएपछि के गर्ने भन्ने अन्योल छैन, मसँग स्पष्ट योजना छ,” उनले भने, “जुम्लालाई खेलकुदको हब बनाउने लक्ष्यसहित काम गर्नेछु ।”

उनका अनुसार खेल पूर्वाधारको सुधार, स्थानीय प्रतियोगिताको नियमित आयोजना र युवालाई खेलतर्फ आकर्षित गर्ने कार्यक्रमहरू पनि प्राथमिकतामा रहनेछन् । साथै, खेलाडी छनोट प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात नहुने गरी प्रणाली विकास गर्ने उनको दाबी छ । हाल जिल्ला खेलकुद विकास समिति अध्यक्ष चयनका लागि सर्टलिस्ट तयार गर्ने प्रक्रिया चलिरहेको छ । सोही प्रक्रियामा आफू पनि प्रतिस्पर्धामा रहेको बताउँदै शाहीले सबै क्षेत्रबाट सहयोग पाए जुम्लाको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार