सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मा हरेक वर्षजस्तै यस वर्ष पनि गर्मीयाम सुरु भएसँगै खानेपानीको संकट चर्किएको छ । मुहानमा पानीको स्रोत निरन्तर घट्दै गएपछि यहाँका स्थानीयवासी दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन संघर्ष गर्न बाध्य भएका छन् । पानी अभावका कारण बिहानदेखि बेलुकासम्म धारामा पानी आउने प्रतीक्षामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय परिवारले ट्यांकर र वैकल्पिक स्रोतको सहारा लिन थालेका छन् । वीरेन्द्रनगर उपत्यकामा खानेपानी वितरणको जिम्मेवारी सम्हाल्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था ले हाल झुप्राखोला, खरीखोला, बोरीखोला तथा आसपासका साना मुहानबाट संकलन गरिएको पानी
वितरण गर्दै आएको छ । तर गर्मी बढेसँगै ती मुहानमा पानीको मात्रा उल्लेखनीय रूपमा घटेपछि संस्थाले मागअनुसार पानी उपलब्ध गराउन सकेको छैन। संस्थाका अनुसार अहिले मुहानमा करिब ४० प्रतिशत पानी घटेको छ । गर्मी मौसममा हरेक वर्ष पानी आपूर्तिमा करिब ५० प्रतिशतसम्म कमी आउने गरेको बताइन्छ। यही कारण संस्थाले अहिले ४८ घण्टाको फरकमा पानी वितरण गर्ने तालिका बनाएको छ। तर उपभोक्ताहरूका अनुसार व्यवहारमा त्यो तालिका पनि प्रभावकारी हुन सकेको छैन । धेरै ठाउँमा चारदेखि पाँच दिनसम्म पनि धारामा पानी नआउने समस्या रहेको छ।
विशेषगरी घना बस्ती भएका क्षेत्रहरूमा पानीको अभाव झन् बढी देखिएको छ । स्थानीयवासीले दैनिक घरायसी काम, सरसफाइ, खाना पकाउने तथा पिउने पानीको जोहो गर्न कठिन भइरहेको बताएका छन् । वीरेन्द्रनगर छका स्थानीय सगुन नेपालीका अनुसार गर्मी लाग्नासाथ पानीको हाहाकार सुरु हुने गरेको छ । उनले वर्षेनि दोहोरिने समस्या भए पनि दीर्घकालीन समाधान हुन नसकेको गुनासो गरे । खानेपानी संकटका कारण कतिपय परिवार बिहानैदेखि सार्वजनिक धारा, इनार तथा ट्यांकरको लाइनमा बस्न बाध्य भएका छन् । पानी अभावले विद्यालय, होटल व्यवसाय, साना उद्योग तथा दैनिक जनजीवनसमेत प्रभावित हुन थालेको स्थानीयहरू बताउँछन् ।
समस्या समाधानका लागि वीरेन्द्रनगर नगरपालिका ले बोरिङ मर्मत तथा नयाँ बोरिङ निर्माणमा बजेट विनियोजन गरेको जनाएको छ। नगरपालिकाले कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा समुदायको मागका आधारमा बोरिङ निर्माणका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका अनुसार प्रतिबोरिङ १० देखि १५ लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरिएको छ । नगर प्रमुख मोहनमाया ढकाल का अनुसार भूमिगत पानीको उपयोगलाई व्यवस्थित बनाउन “भूमिगत स्रोतको पानी निकाल्न तथा उपभोग गर्न अनुमतिपत्र जारी गर्ने निर्देशिका–२०७६” लागू गरिएको छ । यस निर्देशिकाअनुसार नगरपालिकाको अनुमति लिएर मात्र बोरिङ निर्माण गर्न पाइन्छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६१ वटा बोरिङ निर्माणका लागि अनुमति दिइएको थियो। त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा तीन वटा, २०७९/८० मा २४ वटा, २०८०/८१ मा २२ वटा र २०८१/८२ मा २४ वटा बोरिङ निर्माण भएका छन् । चालु आर्थिक वर्षमा थप चार वटा बोरिङ निर्माणका लागि सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । यद्यपि, सबै क्षेत्रमा भूमिगत पानी उपलब्ध नभएकाले बोरिङ निर्माण मात्र दीर्घकालीन समाधान बन्न नसक्ने सरोकारवालाहरूको भनाइ छ । वीरेन्द्रनगरका वडा नं. दुई देखी १० सम्म निर्माण गरिएका बोरिङबाट पर्याप्त पानी आउने गरेको भए पनि वडा नं. एक लगायतका केही क्षेत्रमा इनार र बोरिङ खन्दा समेत पानी नआउने समस्या देखिएको छ ।
विज्ञहरूका अनुसार वन विनाश, अनियन्त्रित सहरीकरण, जलवायु परिवर्तन र पानीका स्रोत संरक्षणमा कमी आउनु खानेपानी संकटको मुख्य कारण बन्दै गएको छ । दीर्घकालीन समाधानका लागि मुहान संरक्षण, वर्षे पानी संकलन, व्यवस्थित वितरण प्रणाली तथा नयाँ जलस्रोतको खोजी आवश्यक रहेको उनीहरूको सुझाव छ । स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने पानी संकट समाधानका लागि सम्बन्धित निकायले दीर्घकालीन योजना लागू गर्नुपर्ने माग गरेका छन् । अन्यथा आगामी वर्षहरूमा वीरेन्द्रनगरमा खानेपानीको समस्या अझ गम्भीर बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।









