२०८३ जेठ ११ , सोमबार

आयुर्वेद शिविरबाट तिन सय ८४ लाभान्वित



रुकुमपश्चिम ।  सानिभेरी गाउँपालिका चार स्थित गरायला स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । एकदिने शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र को आयोजना तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरबाट कुल ३८४ जनाले स्वास्थ्य सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. महेन्द्र खड्का का अनुसार सेवा लिनेमा दुई सय २१ महिला र एक सय ६३ पुरुष रहेका छन् भने एक सय ५४ जना ज्येष्ठ नागरिक रहेका थिए ।

गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएपछि स्थानीय सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा कविराज निरीक्षक सञ्जय साह सहित जिल्लाका विभिन्न पालिकामा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए । शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, श्वासप्रश्वास समस्या, खोकी, पिनास, छातीसम्बन्धी समस्या, हाडजोर्नी तथा नसासम्बन्धी रोग, पुरानो वात, पाठेघर सम्बन्धी समस्या, पाइल्स, फिसर, फिस्टुला, मधुमेह र उच्च रक्तचाप लगायत रोगको परीक्षण गरिएको थियो ।

सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिम ले जनाएको छ । गाउँपालिका अध्यक्ष विष्ट ले दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको विश्वास र पहुँच दुवै बढ्दै गएको बताए । उनले आयुर्वेद सेवाको प्रभावकारिता अझ विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार