जुम्ला । साहित्यकार तथा सामाजिक अभियान्ता राधा पौडेलले जुम्लाका सञ्चारकर्मीहरूलाई लक्षित गर्दै “यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकी छन् । दुई दिने कार्यक्रममा बोल्दै पौडेलले महिनावारीलाई अझै पनि अन्धविश्वास, विभेद र सामाजिक बन्देजसँग जोडेर हेर्ने परम्पराले महिलाको सम्मान र अधिकारमा असर पारिरहेको बताइन् । उनले महिनावारीलाई अपवित्रता वा अशुद्धताको रूपमा हेर्ने मानसिकता नै लैङ्गिक विभेदको प्रमुख कारण भएको उल्लेख गरिन् । पौडेलका अनुसार महिनावारी प्राकृतिक जैविक प्रक्रिया हो, जसलाई रोग वा कमजोरीका रूपमा गलत रूपमा व्याख्या गर्दा महिलाहरू सामाजिक रूपमा पछाडि पारिँदै आएका छन् ।
उनले महिलाको शरीरमाथि नियन्त्रण गर्ने सोचले शिक्षा, घरपरिवार र सार्वजनिक जीवनमा विभेद बढाएको बताइन् । उनले केवल स्यानिटरी प्याड वितरणलाई मात्र समाधान मान्न नहुने भन्दै सामाजिक सोच, व्यवहार र भाषामा परिवर्तन आवश्यक रहेकोमा जोड दिइन् । विद्यालय, परिवार, सञ्चारमाध्यम र स्थानीय सरकार सबैले मर्यादित महिनावारी अभियानमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मर्यादित महिनावारीसम्बन्धी ११ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतामा समुदायस्तरमा सचेतना फैलाउने, सञ्चारमाध्यममा बहस र समाचार प्रवाह बढाउने, स्थानीय तहमा नीति तथा बजेटका लागि पहल गर्ने र विद्यालयस्तरमा पाठ्यक्रम विकासमा सहयोग गर्ने विषय समावेश छन् । सहभागीहरूले घरबाटै महिनावारी विभेद अन्त्यको अभियान सुरु गर्नुपर्ने, युवा तथा किशोरी समूह गठन गरी सामाजिक अभियान विस्तार गर्नुपर्ने र सम्मानजनक शब्दावली प्रयोगमा ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनले सञ्चारकर्मीलाई महिनावारी विभेद र महिला हिंसा अन्त्यका लागि सक्रिय रूपमा कलम चलाउन आग्रह गरेकी छन् ।









