२०८३ जेठ १५ , शुक्रबार
फ्रन्ट पेज

कर्णालीमा बालबालिकाको मानसिक स्वास्थ्य संकट गहिरिँदै



सुर्खेत ।  कर्णाली प्रदेशमा बालबालिकाको मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको संकेत तथ्यांकहरूले देखाएका छन्। पछिल्ला वर्षहरूमा बालबालिका तथा किशोर–किशोरीमा आत्महत्याका घटना बढ्दै जाँदा यसले अभिभावक, विद्यालय र सरोकारवाला निकायलाई चिन्तित बनाएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८१र०८२ को तथ्यांकअनुसार कर्णालीका विभिन्न जिल्लामा ७१ जना बालबालिकाले आत्महत्या गरेका छन्। तीमध्ये अधिकांश घटनामा झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै रहेको देखिएको छ।

तथ्यांकअनुसार सबैभन्दा बढी आत्महत्याका घटना सुर्खेतमा भएका छन्। सुर्खेतमा मात्रै १६ जना बालबालिकाले आत्महत्या गरेका छन्। त्यस्तै, दैलेखमा १९, सल्यानमा १०, रुकुम पश्चिममा ७, जाजरकोटमा ६ तथा मुगु र कालिकोटमा ५र५ जनाले आत्महत्या गरेका छन्। जुम्लामा ३ जना बालबालिकाको आत्महत्याको घटना भएको छ भने डोल्पामा भने कुनै घटना दर्ता भएको छैन।

आत्महत्याको तरिकामध्ये झुन्डिएर आत्महत्या गर्ने घटना सबैभन्दा धेरै रहेको तथ्यांकले देखाउँछ। कुल ५४ जना बालबालिकाले झुन्डिएर आत्महत्या गरेका छन्। विष सेवनबाट ४, आगो लगाएर ३ तथा अन्य कारणबाट १० जनाको मृत्यु भएको उल्लेख छ।

तथ्यांकले बालिकामा पनि मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको देखाएको छ। कुल घटनामध्ये बालकभन्दा बालिकाको संख्या बढी देखिएको प्रहरीको विवरणमा उल्लेख छ। विशेषगरी किशोरावस्थामा पर्ने मानसिक दबाब, पारिवारिक समस्या, सामाजिक विभेद, अध्ययनको तनाव र डिजिटल माध्यमको असरले समस्या बढ्दै गएको विज्ञहरू बताउँछन्।

बालअधिकारकर्मीहरूले कर्णालीमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, विद्यालयस्तरीय मनोसामाजिक सहयोग तथा अभिभावक सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने वातावरण नहुँदा धेरै बालबालिका समस्या लुकाएर बस्न बाध्य हुने गरेको उनीहरूको भनाइ छ।

सरोकारवालाहरूले समयमै मानसिक स्वास्थ्य सेवा विस्तार, विद्यालयमा काउन्सेलिङ व्यवस्था र समुदायस्तरमा सचेतना अभियान सञ्चालन नगरे अवस्था अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन्।

मनोविद् पूर्ण रावलका अनुसार बालबालिकामा बढ्दो मानसिक स्वास्थ्य समस्या कम गर्न परिवार, विद्यालय र समाज सबैको संयुक्त भूमिका आवश्यक हुन्छ। बालबालिकासँग नियमित संवाद गर्ने, उनीहरूको भावना सुन्ने र समस्या खुलेर व्यक्त गर्न सक्ने वातावरण बनाउनु पहिलो आवश्यकता भएको रावल बताउँछन्।

उनका अनुसार धेरै बालबालिका तनाव, डर, एक्लोपन र पारिवारिक दबाबका कारण मानसिक समस्यामा पर्ने गरेका छन्। त्यसैले अभिभावकले बालबालिकामाथि अनावश्यक दबाब दिनुभन्दा उनीहरूलाई माया, साथ र विश्वासको अनुभूति गराउनुपर्छ। विद्यालयमा पनि शिक्षकले विद्यार्थीको व्यवहारमा आएको परिवर्तन पहिचान गरी समयमै परामर्श दिन सक्नुपर्ने उनको सुझाव छ।

रावलले मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि बालबालिकामा चिन्ता र अवसाद बढाउने भएकाले यसको प्रयोगमा निगरानी आवश्यक रहेको बताएका छन्। खेलकुद, सिर्जनात्मक गतिविधि, साथीभाइसँग घुलमिल तथा परिवारसँग समय बिताउने वातावरणले मानसिक स्वास्थ्य सुधार गर्न मद्दत पुग्ने उनको भनाइ छ।

उनका अनुसार मानसिक समस्या देखिएका बालबालिकालाई “कमजोर” भनेर हेर्नु हुँदैन। समयमै मनोसामाजिक परामर्श, काउन्सेलिङ र आवश्यक उपचार उपलब्ध गराउन सके आत्महत्याजस्ता दुःखद घटना कम गर्न सकिने उनले बताएका छन्।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार