२०८३ जेठ १८ , सोमबार
सम्पादकीय

छोरीका आवाज नीति निर्माणसम्म पु¥र्याऊ



कर्णाली प्रदेशको सामाजिक रूपान्तरण र लैङ्गिक समानताको यात्रामा ‘कर्णाली छोरी सम्मेलन–२०८३’ एक महत्वपूर्ण अभियानका रूपमा स्थापित भएको छ । प्रदेशका ७९ वटै स्थानीय तहबाट आएका छोरीहरूको सहभागितामा वीरेन्द्रनगरमा दोस्रो संस्करणको सम्मेलन पनि सम्पन्न भएको छ । यो सम्मेलन औपचारिक कार्यक्रम मात्र नभइ कर्णालीका छोरीहरूको आवाज, अनुभव, आकांक्षा र अधिकारलाई एकीकृत रूपमा प्रस्तुत गर्ने साझा मञ्च हो । कर्णालीलाई प्रायः गरिबी, पिछडापन र अभावको दृष्टिकोणबाट चित्रण गरिन्छ । तर यही भूमिमा संघर्ष, सिर्जनशीलता, नेतृत्व क्षमता र परिवर्तनका असंख्य सम्भावनाहरू पनि छन् । सम्मेलनमा सहभागी भएका राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका किशोरी तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको उपस्थितिले यो कार्यक्रम समावेशिताको उत्कृष्ट उदाहरण बनेको छ । समाजका सीमान्तकृत समुदायका छोरीहरूको आवाजलाई केन्द्रमा राख्नु नै वास्तविक सामाजिक न्यायको आधार हो । कर्णालीमा महिलाको अवस्था उल्लेखनीय रूपमा सुधार हुँदै गएको तथ्यलाई नकार्न सकिँदैन, तर चुनौतीहरू अझै समाप्त भएका छैनन् ।

बालविवाह, छाउपडी, घरेलु हिंसा, यौन दुव्र्यवहार, मानव बेचबिखन र लैङ्गिक विभेदजस्ता समस्या अझै पनि समाजका गहिरा घाउका रूपमा विद्यमान छन् । कर्णालीमा अझै ३३ प्रतिशत महिला निरक्षर हुनु गम्भीर चिन्ताको विषय हो । शिक्षा, स्वास्थ्य, सुरक्षा र अवसरमा समान पहुँच नहुँदासम्म महिलाको वास्तविक सशक्तीकरण सम्भव हुँदैन । सम्मेलनले उठाएका विषयहरू केवल महिलाका मुद्दा होइनन्, ती समग्र समाजको विकाससँग जोडिएका प्रश्नहरू पनि हुन् । महिलाको सहभागिताविना समावेशी विकास सम्भव हुँदैन भन्ने यथार्थपरक पृष्टि पनि हो । महिलालाई प्रतिनिधित्वको संख्यामा सीमित नगरी निर्णय प्रक्रियाको केन्द्रमा पु¥याउनु आवश्यक छ । संविधान संशोधनको बहस चलिरहेका बेला महिलाको ५० प्रतिशत प्रतिनिधित्वको मागलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।

कर्णाली प्रदेश सरकारले छोरीहरूको शिक्षा, नेतृत्व विकास र आत्मनिर्भरताका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । यस्ता कार्यक्रम स्वागतयोग्य भए पनि तिनको प्रभावकारिता परिणामबाट मापन हुनुपर्छ । बालविवाह न्यूनीकरण, छात्रवृत्ति वितरण, महिला उद्यमशीलता प्रवद्र्धन तथा हिंसा नियन्त्रणका कार्यक्रम गाउँ–गाउँसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्र परिवर्तनको अनुभूति हुनेछ । किनकी अवसर, आत्मविश्वास र निरन्तर प्रयास भए कठिन परिस्थिति पनि सफलता प्राप्तिको बाधक बन्न सक्दैन । तर प्रेरणादायी भाषण र घोषणामात्र पर्याप्त हुँदैनन् । सम्मेलनबाट उठेका निष्कर्षहरू सरकारका दराजमा सीमित हुनु हुँदैन । सहभागी छोरीहरूले शिक्षा, सुरक्षा, आर्थिक अवसर र नेतृत्व विकासमा देखाएका चुनौतीहरूको समाधानका लागि ठोस नीति, बजेट र कार्यान्वयन योजना आवश्यक छ । सम्मेलनपछि पनि उनीहरूको आवाज निरन्तर सुनिने र सम्बोधन हुने व्यवस्था राज्यले गर्नुपर्छ । त्यसैले कर्णालीका छोरीहरू अब सहयोगका पात्र मात्रै होइनन्, परिवर्तनका संवाहक पनि हुन् ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार