सुर्खेत । नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइलाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानको धारा ३५ (४) अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरिएको छ । संविधानमा व्यवस्था भएबमोजिम राज्यले मानव जीवनमा प्राणवायु अक्सिजनपछि पिउने पानीको अपरिहार्यता मनन् गरी सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउनु पर्ने हो । बिडम्बना व्यवहारमा भने राज्यका हरेक क्षेत्रमा पछाडि पारिएका विपन्न वर्गका नागरिकले खोलामा बगेको पानीसमेत शुद्धसँग पिउन पाएका छैनन् ।

आधारभूत आवश्यकतामा पर्ने खानेपानीको व्यवस्थापन गर्नु राज्यको पहिलो दायित्व हो । तर राज्य यही दायित्वबाट बिमुख हुँदा सदियौदेखि राज्यको मुल प्रवाहबाट पछाडि पर्दै आएको बादी समुदाय खोलामा बगेर आएको पानीलाई समेत निर्वाधरुपमा उपभोग गर्न नसक्ने अवस्थामा छ । यो हिजो आजको समस्या होइन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारामा झण्डै एक सय ५० बढी घरपरिवारको बसोवास छ । उनीहरु त्यस क्षेत्रमा २०४६ साल यता बसोवास गर्दै आएका छन् । उनीहरुको दैनिक गर्जो टार्ने मेसो त्यही झुप्रा खोलाको बालुवा चाल्नु हो । केही दशकअघिसम्म झुप्रा खोलाको पानी खान योग्य थियो । शरीरलाई हानि पु¥याउने खालका जिवाणु अर्थात पानी प्रदुषित थिएन ।
स्थानीय धनसरा बादीका अनुसार खोलाबाट दिनभर गिट्टी, बालुवा निकाल्ने, तिर्खा लागे झुप्रा खोलाको पानीले प्यास मेटाउने बानी थियो । आफ्ना जीवनका लामा अध्याय झुप्रा खोलाको पानीले कटाएकी धनसरालाई अहिले त्यही पानी छुन पटक–पटक सोच्नु पर्छ । तर उनलाई बाध्यता छ । खान योग्य छैन भन्ने थाहा छ, तर उनको परिवार प्रदुषित भएपनि कपडाले छानेर दैनिक खानेपानीको जोहो गर्न बाध्य छ ।
पानीकै कारण धनसराको परिवारलाई सरसफाईजन्य संक्रमण टाइफाइड, झाडापखलाको जोखिम पनि उत्तिकै छ । हरेक वर्ष परिवारका सदस्यहरु टाइफाइडले थलिने गरेको नमिठो सत्य धनसरासँग छ । महिनावारी हुँदा पनि स्वच्छ पानीको अभाव खड्की रहेको छ, धनसारालाई ।
उनी भन्छिन्, ‘पहिले पहिले खोलामा बग्ने पानी स्वच्छ हुन्थ्यो, पिउन, खाना पकाउन, नुहाई धुवाई गर्न खोलाको पानी प्रयोग गर्ने गरेका थियौं । तर, अहिले बस्तीको माथितिरबाट फोहोर फाल्ने, खोलामा जथाभावी डोजरले खन्ने हुन थालेपछि खानेपानीको जोहो गर्न निकै मुस्किल पर्न थालेको छ ।’
अहिले धनसराको परिवारले खोलाको किनारामा खाल्डो बनाएर जम्मा भएको पानी उपभोग गर्दै आएको छ । मानव स्वास्थ्यका दृष्टिकोणले धनसराको परिवारले उपभोग गरिरहेको स्रोतको पानी पिउनलाई उपयक्त छैन ।
स्थानीय हरिबहादुर बादी २०५४ सालतिरबाट झुप्रा खोला किनारमा आफ्नो परिवारसँग बस्न थालेका थिए । उनी त्यहाँ बस्न थालेको झण्डै २९ वर्ष भयो । उनले पनि ढुक्क भएर स्वच्छ खानेपानीको उपभोग गर्न पाएका छैनन् । उनी बादी बस्तीका अगुवासमेत हुन् । उनले बस्तीमा स्वच्छ खानेपानीको जोहो गर्न राज्यका तीनै तहका सरकारसँग निकै लडाई लडेका छन् ।
तर उनको पीडा अहिलेसम्म सम्बोधन भएको छैन । उनका अनुसार बस्तीमा स्वच्छ खानेपानीको व्यवस्थापन नभएको पनि होइन । झण्डै पाँच वर्षअघि एक गैरसरकारी संस्थाको सहयोगमा बस्तीसम्म खानेपानीका धारा निर्माण भएका छन् । तर गुणस्तरी पूर्वाधार नहुँदा खडेरी लाग्ने बित्तिकै पाइप जल्ने, घास, दाउरा जानेले पाइप काटिदिने लगायतका समस्याले बस्तीमा पानीको हाकार हुने गरेको उनी सुनाउछन् ।
‘बस्तीको किनाराबाट झुप्रा खोला बगेको छ, तर बस्तीमा खानेपानी छैन ।’ उनी भन्छन्, ‘कम्तीमा खानलाई मात्र भएपनि पानी ल्याइदेउ भनेर पुग्नुपर्ने ठाउँसम्म पुगियो, हाम्रा पीडा सुनवाईमै पर्दैनन् ।’ कम लागतमै बस्तीसम्म खानेपानी ल्याउन सकिने अवस्था रहेपनि वीरेन्द्रनगरले चासो नदेखाएको गुनासो हरिबहादुरको छ ।
बस्तीको आधारभूत आवश्यकता पुरा गर्नतर्फ चासो नदिएको वीरेन्द्रनगर नगरपालिकाकै कारण झुप्रा खोलको किनारामा बसोबास गर्दै आएको विपन्नहरुको ठुलो बस्तीसमेत जोखिममा परको उनले सुनाए ।
अर्कै स्थानीय अमृता बादीले वीरेन्द्रनगरले नदीजन्य सामग्री उत्खनन् गर्न थालेपछि स्थानीयको रोजगारी खोसिनुका साथै वर्र्षेनी खोलाले धार परिवर्तन गर्दा बस्ती नै बाढीको चपेटामा पर्ने जोखिम बढेको बताइन् ।
उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाले राजश्व संकलन गर्ने नाममा वर्षेनी नदीजन्य सामग्री उत्खनन्का लागि झुप्रा खोला ठेक्का दिने गर्छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर नदीजन्य पदार्थ निकाल्न दिइने दावी गरिएपनि ठेकेदारले डोजर प्रयोग गरेर मापदण्डविपरित गिट्टी, बालुवा निकाल्दा झुप्रा खोलाको स्वरुप मात्र बदलिएको छैन । स्थानीयहरुलाई झुुप्रा खोलामा बगेर आउने पानीसमेत प्रदुषित बनाइ रहेको छ । यसतर्फ नियामक निकायले कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ ।
दाताले गरिदिए खानेपानीको जोहो
केही महिनाअघि बादी वस्ती नजिक लागेको आगोले पाइप लाइनमा क्षति पुगेर खानेपानीको आपूर्ति रोकिएपछि स्थानीयहरु दाता गुहार्न बाध्य बनेका छन् ।
बस्तीसम्म विस्तार भएको खानेपानीको लाइनलाई व्यवस्थित बनाउन वीरेन्द्रनगर नगरपालिकालाई बारम्बार अनुरोध गर्दा सुनुवाई नभएपछि स्थानीयहरुले होसन्ना सेवाकाई नेपाल नामक गैरसरकारी संस्था गुहार्न बाध्य बन्नु परेको बादी अगुवा छविलाल बादी बताउछन् ।
संस्थाले तत्कालका लागि खानेपानीको सहज आपूर्ति गर्न जिर्ण बनेको पाइपलाईन मर्मत गर्ने कार्यका लागि आर्थिक सहयोग गरेको हो । संस्थाका कार्यकारी निर्देशक पुजा बादीका अनुसार आधारभूत आवश्यकता मध्यको खानेपानीको चरम संकट देखिएपछि आगलागीको जोखिम र जिर्ण बनेको लाइनका पाइपहरु परिवर्तन गर्न लागिएको बताइन ।
पानीकै कारण सरसफाईजन्य रोग र संक्रमणबाट बस्तीका नागरिकलाई सुरक्षित बनाउन खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गरिएको उनले बताइन । उनका अनुसार बादी समुदायको आर्थिक सशक्तिकरणका क्षेत्रमा समेत विभन्न कार्यक्रमहरु संस्थाद्वारा भइरहेको उनले बताइन ।







