२०८३ जेठ २४ , आइतबार
सम्पादकीय

घट्दो संक्रमण, चुनौती बाँकी



कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा क्रमशः घट्दै जानु सकारात्मक र उत्साहजनक संकेत हो । आर्थिक वर्ष २०७८/७९ मा ८० जनामा संक्रमण पुष्टि भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म आइपुग्दा यो संख्या ३१ मा सीमित हुनु स्वास्थ्य क्षेत्रमा भएका प्रयासहरूको उपलब्धि हो। परीक्षणको दायरा विस्तार हुनु, उपचार सेवामा पहुँच बढ्नु, सचेतनामूलक अभियान सञ्चालन हुनु र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सक्रियता यसको प्रमुख कारण मान्न सकिन्छ । प्रदेशभरका विभिन्न अस्पताल तथा एआरटी केन्द्रमार्फत ७७० जना संक्रमितले नियमित उपचार पाइरहेका छन् । यसले एचआईभी संक्रमितहरू स्वास्थ्य सेवाको पहुँचमा आउँदै गएको देखाउँछ। विशेषगरी गर्भवती महिलामा संक्रमण परीक्षण विस्तार हुनु र आमाबाट शिशुमा संक्रमण रोक्ने कार्यक्रमलाई प्राथमिकता दिनु स्वास्थ्य प्रणालीको महत्वपूर्ण उपलब्धि हो । समयमै परीक्षण र उपचारको व्यवस्था हुनुका कारण संक्रमण नियन्त्रणको लक्ष्य प्राप्तिमा सहयोग पुगेको छ ।

तर संक्रमणको दर घट्दै गएको तथ्यले मात्र सन्तुष्ट हुने अवस्था भने छैन । चुनौतीहरू अझै पनि गम्भीर छन् । सबै गर्भवती महिलालाई परीक्षणको दायरामा ल्याउन नसक्नु, उपचार केन्द्रमा आवश्यक परीक्षण किट तथा औषधिको माग र आपूर्तिबीच असन्तुलन रहनु, तथा तथ्यांक व्यवस्थापनमा देखिने कमजोरीले कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाउँछ । अझ ठूलो चुनौती भनेको संक्रमितप्रति समाजमा विद्यमान लाञ्छना, विभेद र पूर्वाग्रह हो। आज पनि धेरै संक्रमितहरू आफ्नो पहिचान सार्वजनिक गर्न डराउँछन् । कतिपयले रोजगारीका अवसर गुमाउँछन् भने कतिपय सामाजिक बहिष्करणको पीडा भोग्न बाध्य छन् । एचआईभी अब केवल स्वास्थ्यको विषय मात्र होइन, यो सामाजिक न्याय र मानव अधिकारसँग जोडिएको मुद्दा पनि हो । संक्रमितहरूलाई सम्मानजनक जीवन बाँच्ने वातावरण निर्माण गर्न राज्य, समुदाय र नागरिक समाज सबैको समान जिम्मेवारी रहन्छ ।

कर्णालीका दुर्गम जिल्लाबाट उपचारका लागि सुर्खेत पुग्नुपर्ने बाध्यता पनि अर्को समस्या हो । आर्थिक अवस्था कमजोर भएका संक्रमितका लागि यातायात खर्च जुटाउनु नै कठिन बन्दै गएको छ। यस्ता व्यक्तिहरूलाई उपचारसँगै आर्थिक तथा सामाजिक पुनर्स्थापनाका कार्यक्रम आवश्यक छन्। आयआर्जन, सीप विकास र स्वरोजगारका अवसरसँग जोड्न सके मात्र संक्रमितहरूको जीवनस्तरमा वास्तविक सुधार आउन सक्छ ।

राष्ट्रिय लक्ष्यअनुसार सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने अभियान सञ्चालन भइरहेको छ । यस लक्ष्यमा पुग्न संक्रमण पहिचान, उपचार र भाइरल लोड नियन्त्रणका सूचकहरू पूरा गर्नु मात्र पर्याप्त हुँदैन । समाजमा रहेको डर, भ्रम, विभेद र मौनतालाई पनि अन्त्य गर्नुपर्छ । त्यसका लागि विद्यालयदेखि समुदायसम्म व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । कर्णालीले संक्रमण दर घटाउने दिशामा उल्लेखनीय प्रगति गरेको छ । तर संक्रमण घट्नु अन्तिम सफलता होइन, यो अझ जिम्मेवार बन्ने अवसर हो । स्वास्थ्य सेवा विस्तारसँगै सामाजिक स्वीकृति, आर्थिक सुरक्षा र सम्मानजनक जीवनको सुनिश्चितता गर्न सके मात्र एचआईभी नियन्त्रणको अभियान सार्थक हुनेछ। कर्णालीको अबको परीक्षा संक्रमण घटाउने मात्र होइन, संक्रमितलाई समाजको मूलधारमा सम्मानपूर्वक स्थापित गर्ने पनि हो ।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार