२०८३ असार ५ , शुक्रबार

गुणस्तरीय निर्माणमा पालिकाकाे जोड



हुम्ला । असार महिना सुरु भएसँगै हुम्लाका स्थानीय तहहरूले निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विकास योजनाको अनुगमनलाई तीव्र बनाएका छन् । उपाध्यक्षको संयोजकत्वमा गठन हुने अनुगमन समितिको सिफारिस अन्तिम भुक्तानीका लागि अनिवार्य भएकाले योजनास्थलमा पुगेर निरीक्षण गर्ने कार्य बढाइएको हो । सर्केगाड गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन भएका दुई सय १७ योजनामध्ये एक सय ५० योजनाको अनुगमन सम्पन्न भएको छ ।

गाउँपालिका उपाध्यक्ष देवकी तिमिल्सिनाका अनुसार लागत अनुमानअनुसार काम नभएका योजनालाई सुधार गर्न निर्देशन दिइएको छ भने गुणस्तरीय काम भएका योजनालाई अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको छ । सबै योजनाको स्थलगत अनुगमनपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाइने जनाइएको छ । अदानचुली गाउँपालिकामा चालु आवमा ९९ वटा साना तथा ठूला योजना सञ्चालनमा छन् । गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार बहुवर्षीय योजनाबाहेक अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

योजनाको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन भइरहेको उनले बताए ।  सिमकोट गाउँपालिकामा सञ्चालनमा रहेका करिब दुई सय  योजनामध्ये ५० योजनालाई गुणस्तरका आधारमा अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको छ । उपाध्यक्ष सुशीला भाम रोकायाका अनुसार बाँकी योजनाको पनि निरन्तर अनुगमन भइरहेको छ । नाम्खा गाउँपालिकाले पनि अनुगमनलाई प्राथमिकता दिएको छ । अध्यक्ष प्रेमबहादुर लामाका अनुसार एक सय भन्दा बढी योजना सञ्चालनमा रहेका छन् र अनुगमन टोली दुर्गम लिमी क्षेत्रसम्म पुगेको छ ।

खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष ज्ञानबहादुर सिंहको नेतृत्वमा प्राविधिकसहितको टोलीले पाँचवटै वडामा पुगेर योजनाको अनुगमन गरिरहेको छ। त्यस्तै, ताँजाकोट गाउँपालिकामा सञ्चालनमा रहेका ५० योजनामध्ये १९ योजनालाई अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको छ । स्थानीय तहहरूले विकास योजनाको गुणस्तर कायम गर्दै समयमै सम्पन्न गराउन अनुगमनलाई प्रभावकारी बनाएका छन् ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार