सुर्खेत । शिशुलाई जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खुवाउने अर्थात् पूर्ण स्तनपान गराउने दरमा कर्णाली प्रदेश देशकै अग्रस्थानमा रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य महाशाखाले गरेको स्वास्थ्य सर्वेक्षणअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत शिशुले पूर्ण स्तनपान पाउने गरेका छन् । यो दर अन्य प्रदेशको तुलनामा उच्च रहेको बताइएको छ । ल महाशाखाका पोषणविज्ञ लीलाविक्रम थापाका अनुसार शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि जन्मेदेखि छ महिनासम्म पूर्ण स्तनपान अत्यन्त आवश्यक हुन्छ ।
सर्वेक्षणले कर्णाली र सुदूरपश्चिममा स्तनपानसम्बन्धी चेतना तथा अभ्यास अपेक्षाकृत राम्रो रहेको देखाएको छ। अन्य प्रदेशको तथ्याङ्क हेर्दा मधेशमा ६५ प्रतिशत, गण्डकीमा ६४ प्रतिशत, कोशीमा ५३ प्रतिशत, बागमतीमा ४३ प्रतिशत र लुम्बिनीमा ३६ प्रतिशत मात्र पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । यस्तै, दुधदानीबाट दूध खुवाउने दर भने कर्णालीमा सबैभन्दा कम रहेको छ । बागमती प्रदेशमा ४३ प्रतिशत शिशुलाई दुधदानीबाट दूध खुवाइने गरेको तथ्याङ्क छ । गण्डकी, कोशी, लुम्बिनी, मधेश र सुदूरपश्चिममा पनि दुधदानी प्रयोग हुने गरेको पाइएको छ । अध्ययनअनुसार उच्च शिक्षा हासिल गरेका तथा आर्थिक रूपमा सम्पन्न परिवारका महिलामा दुधदानी प्रयोग गर्ने प्रवृत्ति बढी देखिएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ र पहिलो छ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै खानेकुरा वा पेय पदार्थ दिनुहुँदैन । छ महिनापछि पोषिलो पूरक आहारसँगै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरिएको छ । यद्यपि बदलिँदो जीवनशैली, आधुनिक सोच र बट्टाको दूधप्रतिको आकर्षणका कारण केही क्षेत्रमा पूर्ण स्तनपानको अभ्यासमा कमी आउन थालेको चिन्ता स्वास्थ्य विज्ञहरूले व्यक्त गरेका छन् । उनीहरूले शिशुको स्वस्थ विकास र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न स्तनपानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।








