२०८३ असार ५ , शुक्रबार

४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा राजन र सन्तोसी प्रथम



सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सुरु भएको ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोसी श्रेष्ठ प्रथम भएका छन् । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको राष्ट्रियस्तरको उक्त प्रतियोगितामा देशभरका सात प्रदेश तथा तीन विभागीय टोलीका खेलाडी सहभागी भएका छन् ।

नेपाल एथलेटिक्स संघका केन्द्रीय सचिव राधाकृष्ण विष्टका अनुसार प्रतियोगितामा करिब तिन २० खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताले कर्णालीमा एथलेटिक्स खेलको विकास र विस्तारसँगै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको खेलकुद पूर्वाधार र सम्भावनालाई समेत उजागर गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।

नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीव विक्रम शाहले कर्णालीमा पहिलोपटक राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप आयोजना हुनुलाई प्रदेशको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन मिल्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको छनोट र भविष्यका अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा समेत यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार