२०८३ असार २० , शनिबार

विज्ञान प्रवर्द्धनमा कर्णालीको पहल



नमराज तिमिल्सेना 

सुर्खेत ।  कर्णाली प्रदेशमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा ग्लोबल सस्टेनेबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्राविधिक सहयोगमा आयोजित सम्मेलनमा प्रदेशका १० वटै जिल्लाका विज्ञान शिक्षक, विश्वविद्यालयका विद्यार्थी, युवा वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली समस्या मात्र नभई सम्भावनाले भरिएको प्रदेश भएको बताए । उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञान र प्रविधिसँग जोड्न सके कृषि, स्वास्थ्य, पर्यटन र उद्यमशीलतामा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने धारणा राखे । प्रदेश सरकारले डिजिटल पूर्वाधार विस्तार तथा विज्ञानमैत्री वातावरण निर्माणका लागि विभिन्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उनले जानकारी दिए । साथै, कर्णालीका प्राकृतिक स्रोत र सम्भावनाबारे थप अनुसन्धान गर्न वैज्ञानिक तथा विज्ञहरूलाई आह्वान गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ दिनेशराज भुजुले विज्ञान र प्रविधिको विकासका लागि राज्यको लगानी र अनुसन्धानमा जोड दिनुपर्ने बताए । प्राकृतिक स्रोत मात्र भएर समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले उपलब्ध स्रोतको वैज्ञानिक र दिगो उपयोग गर्नुपर्नेमा जोड दिए । सामाजिक विकास मन्त्रालयकी सचिव रोशनी श्रेष्ठले कर्णाली अनुसन्धानका लागि उपयुक्त भूमि भएको बताउँदै विज्ञान तथा प्रविधिको विकासलाई प्राथमिकता दिइएको जानकारी दिइन् ।

सम्मेलनका विभिन्न विषयगत सत्रमा कृषि, सूचना प्रविधि, ऊर्जा, स्वास्थ्य तथा नवप्रवर्तनसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो। साथै, युवा वैज्ञानिकहरूले विकास गरेका प्रविधि, अनुसन्धान परियोजना तथा स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो । कार्यक्रमको अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका युवा वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा उद्यमीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार