सुर्खेत । डोल्पाको मौरेलेख क्षेत्रमा आइतबार भएको बोलेरो जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीया विष्णु थापा रहेकी छन् । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप मौरेलेख क्षेत्रमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खसेपछि दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको घटनास्थलमै प्राथमिक उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उद्धार कार्यलाई तीव्र बनाउन चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ। स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकायको समन्वयमा उद्धार कार्य जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।








