सल्यान । शारदा नगरपालिका–५ स्थित जनकल्याण आधारभूत विद्यालय, तल्लोमार्केमा अनाथ, संरक्षणको आवश्यकता भएका तथा अति विपन्न बालबालिकाको आवासीय शिक्षालाई सहज बनाउन निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्मित छात्रावास भवनको औपचारिक उद्घाटन गरिएको हो ।
उक्त अवसरमा विद्यालयमा दुई दशकभन्दा बढी समय सेवा गर्दै २०८३ असारमा अवकाश प्राप्त गरेका प्रधानाध्यापक डिल्लीबहादुर भण्डारी लाई सम्मानपूर्वक बिदाइ गरिएको थियो । साथै छात्रावास निर्माणका लागि जग्गा उपलब्ध गराउने कालीबहादुर बुढाथोकी, पिमकली बुढाथोकी र हुकुम बस्नेत लाई सम्मानपत्र प्रदान गर्दै योगदानको कदर गरिएको थियो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष प्रदीप शाही, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर वली ले गरेका थिए ।
नगर प्रमुख भण्डारीले छात्रावास सञ्चालनमा आएपछि आर्थिक रूपमा विपन्न, अनाथ तथा संरक्षणको आवश्यकता भएका बालबालिकाले सुरक्षित आवाससँगै गुणस्तरीय शिक्षामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे । विद्यालयले पनि छात्रावासले शैक्षिक अवसर विस्तार गर्दै बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको जनाएको छ ।








