२०८३ साउन ८ , शुक्रबार
सम्पादकीय

व्यवहारमै परिवर्तन ल्याऊ



कर्णाली प्रदेश यतिबेला सार्वजनिक स्वास्थ्यका दुई गम्भीर चुनौतीसँग एकैपटक जुधिरहेको छ । एउटा चुनौती हो, डेङ्गु संक्रमणको तीव्र विस्तार, र अर्को हो, मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जानु, यी दुवै विषयलाई सामान्य मौसमी समस्या वा व्यक्तिगत विषयका रूपमा हेर्ने समय अब समाप्त भइसकेको छ । गत आर्थिक वर्षमा मात्रै प्रदेशभर करिब चार हजार व्यक्तिमा डेङ्गु संक्रमण पुष्टि हुनु चिन्ताको विषय हो । अझ तीमध्ये अधिकांश संक्रमित सुर्खेतमा हुनु झन् गम्भीर अवस्था हो । एक समय तराईको रोग मानिएको डेङ्गु अहिले जलवायु परिवर्तन, तापक्रम वृद्धि, अव्यवस्थित शहरीकरण र सरसफाइमा देखिएको कमजोरीका कारण हिमाली तथा उच्च पहाडी जिल्लासम्म फैलिन थालेको छ । यसले स्वास्थ्य जोखिमको भौगोलिक स्वरूप नै परिवर्तन भइरहेको देखाउँछ ।

डेङ्गु नियन्त्रणका लागि सञ्चालन गरिएका सफा शुक्रबारू जस्ता अभियान सकारात्मक प्रयास हुन्। तर अभियान सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन । स्थानीय तह, स्वास्थ्य संस्था र नागरिकबीच प्रभावकारी समन्वय हुन सकेन भने यस्ता कार्यक्रम औपचारिकतामै सीमित हुने खतरा रहन्छ । घर–घरमा पानी जम्न नदिने, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने र लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा पुग्ने बानीको विकास नगरेसम्म डेङ्गुमाथि विजय हासिल गर्न सकिँदैन । यत्तिकै गम्भीर अर्को विषय मानसिक स्वास्थ्य हो । पछिल्ला वर्षहरूमा तनाव, अवसाद, आत्महत्या र आत्मदाहजस्ता घटनामा देखिएको वृद्धि केवल स्वास्थ्यको विषय मात्र होइन, यो सामाजिक, आर्थिक र पारिवारिक संकटको प्रतिविम्ब पनि हो । अझै पनि मानसिक रोगलाई लुकाउने, सामाजिक लाञ्छनाको डरले उपचार नगर्ने र समयमै परामर्श नलिने प्रवृत्तिले समस्या झन् जटिल बनाइरहेको छ ।

सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्ने तयारी गरेको छ । यो स्वागतयोग्य कदम हो । तर योजना कागजमा सीमित हुनुहुँदैन । गाउँ–टोलसम्म मनोसामाजिक परामर्श सेवा, विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, स्थानीय तहमा नियमित परामर्श कार्यक्रम र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि सँगसँगै अघि बढ्नुपर्छ । सञ्चारमाध्यम, विद्यालय, समुदाय र परिवार सबैले मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न भूमिका खेल्न आवश्यक छ । डेङ्गु र मानसिक स्वास्थ्य फरक–फरक समस्या भए पनि समाधानको आधार एउटै छ, समयमै सचेतना, प्रभावकारी रोकथाम, सशक्त सार्वजनिक स्वास्थ्य प्रणाली र नागरिकको सक्रिय सहभागिता। रोग फैलिएपछि उपचारमा मात्र केन्द्रित हुनेभन्दा रोग फैलिनै नदिने रणनीति धेरै प्रभावकारी हुन्छ । मानसिक स्वास्थ्यका समस्या गम्भीर रूप लिनुअघि नै परामर्श र सहयोगको पहुँच सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ । कर्णालीले अब स्वास्थ्य चुनौतीलाई प्रतिक्रियात्मक होइन, पूर्वतयारीसहितको नीतिगत ढंगले सामना गर्नुपर्छ । अन्यथा डेङ्गुको संक्रमण र मानसिक स्वास्थ्य संकटले आगामी दिनमा जनस्वास्थ्य, सामाजिक स्थायित्व र विकासका सबै प्रयासलाई कमजोर बनाउने खतरा बढ्नेछ । स्वस्थ कर्णाली निर्माणका लागि सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी र नागरिक सबैले साझा जिम्मेवारी बोध गर्दै व्यवहारमै परिवर्तन ल्याउने समय यही हो ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार