सुर्खेत । सुर्खेतका स्थापित सर्जक धर्मराज गिरीको नयाँ साङ्गीतिक सौगात ‘झरीझैँ आँसु’ बजारमा आएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज २०८३ को अवसर पारेर उनले यो मौलिक तीज गीत सार्वजनिक गरेका हुन् ।
सुर्खेतलाई कर्मथलो र सिर्जनाको केन्द्र बनाउँदै आएका गिरीले हरेक वर्ष नेपाली समाजको मौलिकता, चेतना र सांस्कृतिक धरातल बोकेका तीज गीतहरू निर्माण गर्दै आएका छन् । यसै निरन्तरता स्वरूप ‘झरीझैँ आँसु’ मा नारी मनको भावना र संवेदनालाई मार्मिक रूपमा समेटिएको छ ।
गीतमा नेपाली लोक तथा दोहोरी क्षेत्रकी चर्चित गायिका टिका पुनको स्वर रहेको छ । गीतका शब्द रचना तथा लयरसङ्गीत स्वयम् धर्मराज गिरीकै रहेको छ । गीतको साङ्गीतिक संयोजन झलक सङ्गीतमले गरेका हुन् भने डिजिटल रेकर्डिङ रमेश खड्काले गरेका हुन् । त्यसै गरी गीतको मिश्रण तथा मास्टरिङ बिनोद परियारले गरेका छन् ।
गीतको भिडियोमा पनि सशक्त दृश्य निर्माण गरिएको छ । निर्मल प्याकुरेलको निर्देशन र दृश्य संयोजनमा तयार भएको भिडियोमा प्रकृति, दिप्ती र कल्पना लगायतका कलाकारहरूको अभिनय रहेका हाे ।
अहिले तीजका नाममा भड्किला र विकृत गीतहरूको बाढी आइरहेका बेला सुर्खेतका सर्जक गिरीले भने परम्परागत नेपाली संस्कृति र सामाजिक परिवेश सुहाउँदो मौलिक गीत पस्किएका छन् । हाम्रा तिहार तथा तीजका गीतहरूमा आफ्नै माटोको सुगन्ध र मौलिकता हुनुपर्छ भन्ने मेरो सधैँको प्रयास हो, गित सार्वजनिक गर्दे सर्जक गिरीले भने,।








