सुर्खेत । नेपाली मौलिकता चेली माइतीबीचको आत्मीय सम्बन्ध र तीज पर्वको सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको नयाँ तीज गीत “माइतीको दैलो बरिलै” शुक्रबार सार्वजनिक गरिएको छ ।
पछिल्ला वर्षहरूमा बढ्दो आधुनिक तथा भड्किला प्रस्तुतिहरूका बीच परम्परागत तीजको मौलिक भाका, नेपाली लोकलय र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने प्रयास स्वरूप यो गीत निर्माण गरिएको निर्माता भुवन खरालले जानकारी दिए ।
गीतमा चेलीको माइतीप्रतिको अगाध माया, बाल्यकालका सम्झनाहरू, माइतीघरको आत्मीय वातावरण, परिवारका सदस्यहरूसँगको भावनात्मक सम्बन्ध र तीज पर्वको सामाजिक सांस्कृतिक पक्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ ।
गीतकार भानुभक्त रिजालका अनुसार भिडियोमा ग्रामीण परिवेश, नेपाली मौलिक पहिरन, तीजका परम्परागत क्रियाकलाप र सांस्कृतिक जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गीतको शब्द चयन, भाव,अभिव्यक्ति, लोकलयमा आधारित संगीत संयोजन, मौलिक गायन शैली तथा परम्परागत वाद्यवादनको प्रयोगमा विशेष ध्यान दिइएको निर्माता खरालले जानकारी दिए । त्यसैगरी छायाङ्कन, सम्पादन, रङ संयोजन, निर्देशन, पहिरन, मेकअप, लोकेसन छनोट र कोरियोग्राफी लगायतका प्राविधिक तथा दृश्य प्रस्तुतिमा समेत नेपालीपन झल्काइएको छ ।
गीत निर्माणमा संलग्न सर्जक, कलाकार तथा प्राविधिक टोलीको सामूहिक मेहनत र सिर्जनात्मक समर्पणका कारण गीत उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ ।
निर्माता खरालले सम्पूर्ण सहयोगी, शुभचिन्तक तथा दर्शक, श्रोताप्रति आभार व्यक्त गर्दै गीत हेरेर, सुनेर प्रतिक्रिया दिन तथा साझा गरी नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा साथ दिन सबैमा अनुरोध गरेका छन् । साथै, आगामी दिनमा पनि नेपाली मौलिक कला, भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने यस्ता सिर्जनाहरू निरन्तर ल्याउने प्रतिबद्धता जनाइएको छ ।








